२०८१ फाल्गुन ४, आईतवार १५:३०

प्रधानमन्त्री केपी शर्मा ओलीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि बढाउन सरकार सकारात्मक रहेको बताएका छन्।

प्रतिनिधि सभाको आइतबारको बैठकमा सांसद प्रतीक्षा तिवारीले तराई–मधेसका विकास आयोजनाबारे सोधेको प्रश्नमा प्रधानमन्त्री ओलीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलले ठूलो बजेटको माग गरे पनि बनाउन सरकार सकारात्मक रहेको बताएका हुन्।

सरकारले तराई–मधेसका आयोजनालाई प्राथमिकतामा राखेको उल्लेख गरे।

‘तराई मधेशमा रहेका एवं त्यहाँका नागरिक लाभान्वित हुने आयोजनाहरूलाई सरकारले सधैं प्राथमिकतामा राखेको छ। यी आयोजनाहरूले तराई–मधेस क्षेत्र मात्र नभएर समग्र देशको आर्थिक एवं सामाजिक विकासमा योगदान पुर्‍याउने भएकैले देशकै राष्ट्रिय गौरवका आयोजनाहरू हुन्। १६ औं योजनामा यी आयोजनालाई प्राथमिकताका साथ समाबेश गरिएको छ। आवधिक योजनाको लक्ष्य अनुरुप हरेक वर्ष नीति तथा कार्यक्रम एवं बजेटमा पनि यस्ता आयोजनामा उल्लेखनीय बजेट विनियोजन गरी आयोजना कार्यान्वयनमा संलग्न निकायहरूलाई क्रियाशील बनाइएको छ,’ उनले भने।

प्रधानमन्त्री ओलीले जयनगर–जनकपुर–कुर्था–विजयपुरा ५२ किलोमिटर रेलवेको निर्माणकार्य सम्पन्न भई यात्रुबाहक रेलसेवा दैनिक सञ्चालन भएको बताए। जयनगर–जनकपुर हरेक दिन ३ पटक र जनकपुर–विजयपुरा दिनको १ पटक आउने–जाने गरी रेल सेवा दिएको पनि बताए।

थप विजयपुरा–बर्दिबाससम्मको १७ किलोमिटर खण्डमा भारतीय सरकारको सहयोगमा छिट्टै रेलवे निर्माण प्रक्रिया अघि बढ्ने पनि बताए।

काठमाडौं–तराई मधेस द्रुत मार्गलाई शीघ्र सम्पन्न गर्न नेपाली सेनालाई यसको जिम्मेवारी तोकिएको उनले बताए।

‘यस आयोजना लाई छिटो सम्पन्न गर्ने सम्बन्धमा सम्बद्ध निकायका उच्च पदाधिकारीहरूसँग पटक पटक छलफल गरी तीव्रताका साथ कार्यान्वयन गरेको छु। यस आयोजनाको हालको भौतिक प्रगति ३७.६ प्रतिशत रहेको छ,’ उनले भने।

सुनकोशी मरिन डाईभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङको निर्माण सम्पन्न भइसकेको प्रधानमन्त्री ओलीको भनाइ थियो। हाल हेडवर्क्स र पावरहाउस लगायतका संरचना निर्माणको काम अघि बढेको र आयोजनाको भौतिक प्रगति ३५.१८ प्रतिशत रहेको बताए।

चुरेको भू–बनोट, माटोको प्रकृति, जैविक विविधतामा ह्रास र छोटो समयमा सघन वर्षा आदि कारणले यो क्षेत्र अति संवेदनशील रहेको ओलीको भनाइ छ।

‘चुरे क्षेत्र र तराई मधेसमा देखिएको पानीको समस्या समाधानका लागि सुरूआती चरणबाटै राष्ट्रपति चुरे संरक्षण कार्यक्रम मार्फत पानीका स्रोतको संरक्षणका विभिन्न कार्यक्रहरू सञ्चालन हुँदै आइरहेका छन्।  हालसम्म ६ सय ५७ वटा भूमिगत जल पुनर्भरण, पोखरी निर्माण तथा संरक्षण, १ सय ५९ वटा तालतलैया तथा सिमसार व्यवस्थापन, १ सय ७६ वटा रेन वाटर रनअफ हार्भेस्टिङ ड्याम, ७६ वटा जल पुनर्भरण एवं संरक्षण पोखरी निर्माण, ५ सय ४८ वटा पानी मुहान संरक्षण तथा कुवा उत्खनन् लगायतका कार्य सम्पन्न गरिएको छ। चुरेको संरक्षण गरी वातावरण संरक्षण, खानेपानीको आपूर्ति व्यवस्थापन जस्ता जनतासँग प्रत्यक्ष सम्बन्धित रहेका विषयमा सरकारले उच्च प्राथमिकता दिएको छ,’ उनले भने।

प्रतिनिधि सभामा अहिले प्रधानमन्त्रीसँग प्रश्नोत्तर चलिरहेको छ।

Comment


Related News

Latest News

Trending News