
प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार दलबीच कुनै शंका उपशंका गर्न जरूरी नरहेको बताएका छन्।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले दुई दलबीच उच्च विश्वास र समभदारी रहेको बताएका हुन्।
‘गठबन्धनमा रहेका दलहरूबीच मुलुकको विकास र समृद्धिलाई निरन्तरता दिई राजनैतिक स्थिरता कायम गर्दै अगाडि बढ्ने विषयमा सत्ता साझेदार दलबीच कुनै शंका उपशंका गर्न जरूरी छैन। हामीबीच उच्च विश्वास र समझदारी रहेको छ,’ उनले भने।
प्रधानमन्त्री ओलीले विकास, समृद्धि र स्थिरताका लागि नै नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भुमिका रहेका दुई ठूला राजनीतिक दलहरूसहित अन्य दलहरू मिलेर वर्तमान सरकारको गठन गरिएको पनि बताए।
उनले आयोजना कार्यान्वयनमा शिघ्रता ल्याउन, ठेक्का व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न, सार्वजनिक खरिद कानूनमा सामयिक संशोधन गर्न र अन्तर तह तथा अन्तर निकाय समन्वय कायम गर्न संयन्त्रहरूलाई क्रियाशील बनाइने बताए।