
भूमिसम्बन्धी अध्यादेशलाई पारित गर्ने जनता समाजवादी पार्टी (जसपा) नेपालले सहमति नजनाउँदा अर्को हप्ता संसदमा पेश गर्ने तयारी सत्तापक्षले गरेको छ ।
सत्ता गठबन्धन दलको बैठकमा सहभागी नभएको जसपा नेपालले प्रमुख सचेतकहरुको बैठक समेतलाई बहिष्कार गरेको छ । सत्ता गठबन्धन दलहरुको एमाले संसदीय दलको कार्यालयमा आइतबार बिहान बसेको प्रमुख सचेतकहरुको बैठकमा जसपा नेपालकी प्रमुख सचेतक रेखा यादव अनुपस्थित भएपछि अर्को हप्ता अध्यादेश संसदमा पेश गर्ने तयारी थालिएको छ ।
बैठकपछि एमाले प्रमुख सचेतक महेश बर्तौलाले यस हप्तामा अध्यादेश संसदमा पेश गर्ने तयारी नपुग्ने बताएका छन् । ‘तीन संसदको बैठक बस्ने भएको छ’ उनले भने, अध्यादेश सम्बन्धी काम भइरहेकाले तयारी नपुग्ने भएको छ । अर्को हप्ता फागुन ११ गते बस्ने बैठकमा अध्यादेश पेश हुने उनले बताए ।
जसपा नेपालकी प्रमुख सचेतकसित पनि फोनमा सम्पर्क भएको र उहाँहरु राजधानी बाहिर रहेकाले फर्केपछि थप संवाद हुने उनले बताए । तर नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले सांसदहरु कुम्भ स्नान गर्न गएकाले फर्केपछि मात्र प्रकृया अगाडि बढ्ने बताए । ‘सांसदहरु कुम्भ स्नानका लागि भारत तर्फ गएका छन्’ उनले भने, उहाँहरु फर्केपछि अर्को हप्ता अध्यादेश संसदमा पेश गरिने छ ।
सत्ता गठबन्धनको बैठकमा समेत अनुपस्थित रहेको जसपा नेपाल प्रमुख सचेतकको बैठकमा बाहिर रहेर अध्यादेशको पक्षमा नरहेको प्रष्ट सन्देश दिएको छ । भूमिसम्बन्धी अध्यादेशमा जसपा नेपालले सरकारलाई साथ नदिने प्रष्ट गरिसकेको छ । सरकारले जसपा नेपालको विकल्पमा नेकपा एसको समर्थन प्रयास थालेको छ ।