
विवादमा रहिरहने जनमत पार्टीका उपाध्यक्ष समेत रहेका सांसद अब्दुल खान पछिल्लो पटक ‘डन’को रुपमा आफूलाई रौतहटमा सार्वजनिक गरेका छन् । रौतहट जिल्लाको सदरमुकाम रहेको गौर नगरपालिकामा दुईवटा बन्दुक लिएका दुई जनाको बीचमा पूर्व मन्त्री समेत रहेका खान र जिल्ला ईन्चार्ज शेख जमसेद ‘डन’ जस्तै घुमेको तस्बिरहरु सार्वजनिक भएका छन् ।
खानले सार्वजनिक रुपमा हतियार प्रदर्शन गरेर फेरि विवादमा परेका छन् । बन्दुक लिएका दुईजनाको बीचमा बसेको र फेरी सार्वजनिक स्थलमा घुमफिर गरेको फोटो सार्वजनिक गरेर खान बिबादमा परेका छन् । जिल्ला इञ्चार्ज जमसेदले आफ्नो फेसबुकबाट बिभिन्न ‘पोज’का फोटोहरु सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेको तस्बिर सामाजिक सञ्जालमा तत्कालै भाइरल भएको थियो । सार्वजनिक स्थलमा इजाजत प्राप्त हतियार समेत प्रदर्शन गरेर सर्वसधारणलाई आतंकित बनाउने कार्य गर्न मिल्दैन ।
सांसद खान, इञ्चार्ज जमसेदलगायतले हतियार प्रदर्शन गरेको विषय प्रहरीसम्म पुगेको छ । सामाजिक सञ्जालमा प्रतिकृयाहरु बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालय रौतहटले घटनाको छानविन गरेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता समेत रहेका डीएसपी दीपक कुमार रायले सामाजिक सञ्जालमा हतियार बारे चर्चा बढेलगतै छानबिन गरिएको बताएका छन् । ‘जनमतका जिल्ला अध्यक्ष शेख जमसेदले सांसदसमेतलाई राखेर प्रदर्शन गरेको हतियार सरकारी इजाजत प्राप्त रहेको देखिएको छ’ डीएसपी रायले भने, दुईवटै बन्दुक र बोक्ने मानिस सम्बन्धमा छानबिन भएको ।
हतियार सरकारबाट इजाजत प्राप्त रहेको तथा हतियार बोकेका दुवैजना जनमत पार्टीको सदस्य रहेको प्रवक्ता रायले जानकारी बताएका छन् । ‘दुवै हतियार र मानिसलाई जमसेदको जिम्मा लगाएर पठाएको छु ’रायले भने, अब उपरान्त सीडीओ हिरालाल रेग्मीको निर्देशन अनुसार हुने बताएका छन् । यसैबीच सीडीओ रेग्मीले प्रहरीले सुरुगरेको अनुसन्धान पूरा भएपछी उचित सुझाव दिने बताएका छन् । उपाध्यक्ष अब्दुल खान गौर नगरपालिका सबगढा गाउँ स्थित जमसेदको घरमा शनिबार भेटघाट गर्न गएका थिए ।
सोही क्रममा दुई जना मानिसले ठूलो बन्दुक बोकेको र खान संगै जमसेद सोफामा बसेका थिए । उनकै घरको प्राङ्गणमा नेताहरु घुमि रहँदा दुवै जना मानिस हतियार बोकेर संगसंगै हिडेका थिए । सर्वसाधारणले हतियार प्रदर्शन गर्दा कार्वाही हुने र सता पक्षका नेताले त्यहि गर्दा कार्वाही हुने की नहुने गौरमा अहिले चर्चा पाएको छ ।
रौतहट जिल्लामा ‘डन’को पूर्वाभ्यासमा सांसद खान लागेको कतिपयले बताएका छन् । उनीहरुले बन्दुक बोकेको र त्यसबीचमा रहेका खान र जमसेदले आफूहरु डन रहेको सन्देश दिन खोजेको आरोप लगाएका छन् । इजाजत प्राप्त बन्दुक लिएर समेत सार्वजनिक स्थलमा प्रदर्शन गर्न नपाइने प्रावधान विपरीत खानले आफ्ना नेता, कार्यकर्ताहरुलाई हतियार सहित घुमाएर सर्वसधारणमा त्रास उत्पन्न गर्ने प्रयास गरेको स्थानीयहरुको आरोप छ ।
इञ्चार्ज जमसेदले सार्वजनिक सञ्जालमा तस्बिर राखेर भुल गरेको बताउँदै त्यसलाई हटाइसकिएको प्रतिकृया दिएका छन् । उनले आफ्नो आईडीबाट अपलोड गरेका तस्बिरहरु हटाइसके पनि विभिन्न प्रयोगकर्ताहरुले स्क्रिनसर्ट गरेर राखेका तस्बिरहरु अझै देखिन्छ । खान यस अघि एउटा भिडियो प्रकरणमा विवादित बनेका थिए । उनको अश्लिल भिडियो समाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।
भिडियो विवाद प्रकरणमा उनले प्रविधिको प्रयोग गरी आफ् नो चरित्र हत्याको प्रयास गरिएको सफाइ दिएका थिए । उनले साइबर अपराधमा उजुरी दिएर छानबिनको माग गरेका थिए । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त सरकारमा जनमत पार्टीबाट खानेपानी मन्त्री बनेका खान थोरै समयमा सरकारबाट बाहिरिएका थिए ।
सत्ता गठबन्धनको बैठकमा जनमत पार्टीको तर्फबाट खानले प्रतिनिधित्व गरिरहेका छन् । पार्टीमा बलियो पकड बनाएका खान विवादित गतिविधिहरुले पटक पटक चर्चामा रहने गरेका छन् । जनमत पार्टीले उनलाई समानुपातिक कोटामा सांसद बनाएको छ ।