२०८१ फाल्गुन ५, सोमबार ०८:०४

पूर्वराष्ट्रपति डा. रामवरण यादवले अनियन्त्रित डोजर र क्रासरले गर्दा तराई मधेशको प्रकृति विनाश भइरहेको प्रति चिन्ता व्यक्त गरेका छन् ।

पहाडमा चलेको अनियन्त्रित डोजर र तराईमा अवैध रूपमा बढेको क्रसर उद्योगका कारणले प्राकृतिक विनाश दिन प्रतिदिन बढ्दै गएकोमा चिन्ता व्यक्त गरे । “म बनाउँछु नेपाल” भन्ने बहस कार्यक्रममा उनले प्रकृतिको दोहनका कारण मानव जीवन नै संकटमा पर्न थालेकोमा दुःख प्रकट गरे । उनले पहाडमा चलेको अनियन्त्रित डोजर तथा तराईको चुरे क्षेत्रमा भइरहेको अवैध उत्खननका कारणले मुलुकको अन्न तथा जलको भण्डार भएको तराई मधेशमा वर्षेनी पानीको सङ्कट बढ्न थालेको बताए ।

उनले यस्तै अवस्था रहेको खण्डमा अबको केही दशकपछि नेपालमा थप पानीको अभाव भएर मुलुक खाद्यान्नको संकट हुने खतरा रहेकाले चुरेको अनियन्त्रित दोहन रोकेर चुरेलाई हराभरा बनाउनेतर्फ सबैको ध्यान जान जरुरी रहेको बताए । मुख्यमन्त्री सतीशकुमार सिंहले मधेश प्रदेश सरकारले स्वास्थ्य तथा प्राकृतिक श्रोतको दोहनमा देखिएको अवैध क्रियाकलाप रोक्नका लागि अगाडि बढेको बताउँदै चालु आर्थिक वर्षमा सिँचाइका लागि २ अर्ब १५ करोडको टेन्डर गरिएको बताए ।

उनले यसबाट १० हजार र डेढ अर्बको स्यालो ट्युबवेल जडानले थप ६० हजार हेक्टर क्षेत्रफलमा सिँचाइ पुग्ने बताउँदै प्रदेश सरकारले सडक सुरक्षाका लागि प्रहरीसँग सहकार्य गरेका कारणले मधेश प्रदेशमा ५० प्रतिशतले सवारी दुर्घटनामा कमी आएको दाबी गरे ।

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले राजनीतिक ठिक ठाउँमा नआएसम्म मुलुकको विकास तथा समृद्धिको यात्रा तय गर्न कठिन हुने बताए । डा. ओममुर्ति अनिलले मानव जीवनका लागि हावा, पानी, माटो, वायुको संरक्षण र सन्तुलन नभएको खण्डमा मानव जीवन नै सङ्कटमा पर्ने भएकाले मानवले यी चार विषयमा प्रभाव पार्ने काम गर्न नहुने बताए ।

Comment


Related News

Latest News

Trending News