
मुख्यमन्त्री सतीशकुमार सिंहले मधेश विज्ञान स्वास्थ प्रतिष्ठानको चौथो वार्षिकोत्सवको अवसरमा शुभकामना दिएका छन् ।
जनकपुरधाममा सोमबार आयोजित कार्यक्रममा मुख्यमन्त्री सिंहले प्रतिष्ठानले गरेको कार्य र प्राप्त उपलब्धीलाई मध्यनजर गर्दै थप प्रगति गरी मधेशका विद्यार्थीको भविष्य र मधेशको भविष्य उज्जवलको कामना गरे । जनसंख्या तथा स्वास्थ्यमन्त्री सत्रुध्न सिंहले स्वास्थ्य र शिक्षा क्षेत्रमा प्रतिष्ठानले गरेका प्रगतिको प्रशंसा गरे ।
भिसि. डा. अंकुर साहले सरकारी अस्पतालमा स्वास्थ्य र शिक्षाको क्षेत्रमा निरन्तर सेवा प्रवाहको प्रतिबद्धता व्यक्त गरे । उनले जिल्ला र स्थानीय अस्पताललाई प्रादेशिक अस्पतालसँग जोड्ने योजनामा अघि बढ्नुपर्ने बताए । रजिष्ट्रार विनोद यादवले उत्पादनको माग बढाउन र स्वास्थ्य तथा शिक्षा क्षेत्रमा कुनै बजेट अभाव हुन नदिन अर्थ मन्त्रालयले आवश्यक सहजीकरण गर्ने उल्लेख गरे। उनले बजेट निर्माण प्रक्रियाका लागि वित्तीय योजनाहरू समयमै पेश गर्न आग्रह गरे ।
रेक्टर डा. रामनरेश पण्डितले प्रतिष्ठानले यस चार वर्षमा एमबिबिएसको अध्ययन, अध्ययन तथा शैक्षिक क्षेत्रमा विभिन्न विषयगत शिक्षाको व्यवस्था, प्रादेशिक अस्पताल जनकपुरको सरसफाइलगायतका विभिन्न विषयमाथि प्रकाश पारेका थिए ।