
अखिल भारतीय विद्यार्थी परिषदले भारतको ओडिसास्थित केआइआइटी विश्वविद्यालयमा एक नेपाली छात्राको शंकास्पद मृत्यु घटनामा अनुसन्धान हुनुपर्ने माग राखेको छ।
परिषदको केन्द्रीय कार्यालयका मन्त्री सौरभ पाण्डेयले एक विज्ञप्ति जारी गर्दै नेपाली छात्रा मृत्यु प्रकरणमा दु:ख व्यक्त गर्दै यस घटनामा निष्पक्ष अनुसन्धान गर्न माग गरेका हुन्।
‘ओडिसास्थित केआइआइटी विश्वविद्यालयमा नेपाली छात्राको दु:खद मृत्युबारे निष्पक्ष जाँच र विस्तृत अनुसन्धानको माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।
रुपन्देही घर भएकी २० वर्षीया प्रकृति लम्साल आइतबार साँझ विश्वविद्यालयको होस्टलमा मृत भेटिएकी थिइन्। उनी केआइआइटीमा बि-टेक तेस्रो वर्षमा अध्ययनरत थिइन्।
उक्त घटनामा प्रहरीले एक जना छात्रलाई पक्राउ गरेको इन्डियन एक्स्प्रेसले जनाएको छ। पक्राउ पर्नेमा प्रकृतिकै सहपाठी एडविक श्रीवास्तव छन्। उनीमाथि अनुसन्धान भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।