राष्ट्रियसभाले भारतको ओडिसास्थीत एक कलेजमा प्रकृति लम्सालको मृत्यु भएकाबारे छानबिनका लागि कुटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
मंगलबार बसेको राष्ट्रियसभा बैठकमा सदस्यहरुले प्रकृति लम्सालको मृत्यु घटनामा सरकारको ध्यानाकर्षण गराएपछि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त घटनामा सभाको गम्भीर ध्यानाकर्षण भएको भन्दै छानबिनका कुटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाले उक्त घटनामा सत्यतथ्य छानबिन गरी यथार्थ अवस्था पहिचान गरी निज छात्रालाई उचित न्याय प्रदान गर्न यथाशीघ्र गम्भीर रुपमा कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । साथै उक्त कलेजमा अध्ययनरत नेपाली विद्यार्थी सुरक्षित वातावरणमा नीर्भिकताका साथ अध्ययन गर्ने वातावरण बनाउन पनि सरकारलाई उहाले आग्रह गर्नुभयो ।
त्यसअघि बैठकमा राष्ट्रियसभा सदस्य राधेश्याम पासवानले प्रकृति लम्सालको रहस्यमय मृत्यु भएपछि नेपाली विद्यार्थीहरुले छानविनको माग गर्दा कलेजबाटै निकालेको भन्दै कुटनीतिक पहलमार्फत छानविन गर्न माग गर्नुभयो ।
त्यस्तै राष्ट्रियसभा सदस्य कृष्ण बहादुर रोकायाले प्रकृति लम्सालको मृत्युका बारेमा फरकफरक धारणा बाहिर आएको भन्दै यस घटनामा कलेजले ट्वीस्ट गर्न खोजेको बताउनुभयो । उक्त घटनाको छानविनका लागि तत्काल पहल गर्न उहाले माग गर्नुभयो ।
त्यस्तै अन्य सदस्यहरुले नेपाली विद्यार्थीमाथि भएको दमन रोक्दै आगामी दिनमा यस्ता घटना घट्न नदिन तत्काल कुटनीतिक पहल गर्न आग्रह गरेका थिए ।


