
नेपाली कांग्रेस मधेश प्रदेशमा गुटफेर तीव्ररुपमा बढेको छ । संस्थापन पक्षमा रहेक कयौं नेताहरु गुट फेर्दै डा.शेखर कोइराला गुट तर्फ आकर्षित भएका छन् ।
लामो समयदेखि शेरबहादुर देउवा पक्षधर रहेका धनुषा कांग्रेसका पूर्वसभापति समेत रहेका प्रदेश सभासद रामसरोज यादवलगायतका नेताहरु कोइरालाको सम्पर्कमा पुगेका छन् । धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा कांग्रेस भित्र चरम गुटबन्दी देखिएको छ ।
पूर्वउपसभापति विमलेन्द्र निधिलाई उनकै पूर्वसहयोगी जीवनाथ चौधरीले कडा चुनौती दिइरहेका छन् । निधिको निर्वाचन क्षेत्रमा चौधरीले उनी निकट रामसरोज यादव, गणेश झा, प्रफुल्लराज घिमिरे लगायतको टिम निर्माण गरेका छन् । जिल्लामा देउवा समुहमा अटाउन सकस भएपछि सभासद यादव लगायतका नेताहरु डा.कोइरालाको सम्पर्कमा पुगेका छन् ।
डा. कोइराला समुहमा प्रारम्भदेखि डा. चन्द्रमोहन यादव लगायतका नेताहरु रहँदै आएका छन् ।उनी धनुषा जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ मा देउवा समुहका नेता सहमहामन्त्री समेत रहेका महेन्द्र यादवलाई चुनौती दिँदै आएका छन् । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा सभासद यादव चौधरी गुटमा नै रहेपनि जिल्ला, प्रादेशिक र केन्द्रिय राजनीतिमा डा.कोइराला समुहमा रहने छन् ।
डा.कोइरालाले मधेश प्रदेशमा सकृयता बढाएका छन् । सभापतिका प्रवल दावेदार रहेका डा.कोइरालाको पक्ष मधेश प्रदेशमा समेत सशक्त हुन थालेको छ ।धनुषामा कुनै बेला निकै कमजोर रहेको डा.कोइराला समूह अहिले बलियो बनेको छ । नेपाली कांग्रेस धनुषामा निधि गुट सर्वाधिक बलियो रहे पनि अहिले उनी आफ्नै क्षेत्रमा चौधरीलगायतका समूहसित प्रतिष्पर्धा गर्ने अवस्था आएको छ । धनुषामा अब प्रमुख रुपमा तीन वटा गुट देखिएको छ ।
कांग्रेसको पछिल्लो महाधिवेशनमा शेरबहादुर देउवाविरुद्ध सभापतिमा निधिले चुनाव लडेदेखि उनको स्थिति क्षेत्रमा समेत कमजोर बनेको बताइन्छ । आफ्नै क्षेत्रमा आन्तरिक विवाद चर्किएकै कारण नेता निधि विगतमा प्रतिनिधि सभाको चुनावमा पराजित भएका थिए । पछिल्लो चुनावमा उनी प्रतिष्पर्धामा नगइ समानुपातिकको सहज मार्गबाट संघीय संसदमा पुगे ।
पूर्वप्रदेश मन्त्री यादवले साथ छाडेपछिको आक्रोश निधि पुत्रले समाजिक सञ्जालमा पोखेका छन् । उनले सिपाही रहेकाहरुले नै विपक्षीहरुलाई मार्ग देखाएको आरोप लगाउँदै रामसरोज यादवमाथि प्रहार गरेका छन् । यद्यपि धनुषा कांग्रेसका सभापति योगेन्द्र पजियार नेता निधिको पक्षधर छन् । धनुषा निर्वाचन क्षेत्र नम्बर २ का सांसद रामकृष्ण यादव डा. कोइराला गुटमै छन् ।
यद्यपि उनी सहमहामन्त्रीको विरुद्ध जिल्लामा निधिसित पनि निकट सम्बन्ध बनाएका छन् । मधेश प्रदेशमा देउवा समूह अझै पनि बलियो रहेको बताइन्छ । मधेश प्रदेशका सभापति कृष्णा यादवसमेत अधिकांश जिल्लाका सभापति देउवा समुहका छन् । देउवा समुहमा अवसरको संभावना कमजोर देखेपछि नेताहरु गुटफेरमा लागेका छन् ।
मधेश प्रदेशमा देउवा समूहको नेतृत्व सहमहामन्त्री महेन्द्र यादवले गरिरहेका छन् । प्रदेश सभापति यादव अब सहमहामन्त्रीको नातेदार समेत भएकाले भविष्य असुरक्षित महसुस गरेका सभासद रामसरोज यादव डा.कोइराला गुट तर्फ लागेको नेताहरुले बताउन थालेका छन् । मधेश प्रदेश सरकारमा कोइराला गुटबाट यादव सहभागि हुने प्रयत्न गर्न सहज महसुस गरेको बताइन्छ । प्रदेश सभामा कोइराला समूहका सभासद मधेश प्रदेशमा निकै कम छन् ।
कांग्रेसमा भएको गुटफेर अस्वभाविक नभएको जिल्ला उपसभापति गणेश झा बताउँछन् । धनुषामा मात्र होइन, समग्र मधेश प्रदेशमा डा.कोइराला पक्ष बलियो भएको छ, झाले भने, आउँदो महाधिवेशन अगावै मधेश प्रदेशमा कोइराला समूह नेतृत्वमा हुनेछ । धनुषामा निधिको हुकमी शैली र प्रदेशमा देउवा समूहको मनपरीबाट कोइराला गुटमा नेताहरु जान थालेको झाले बताए ।
नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले आन्तरिक प्रतिष्पर्धा हुनु स्वभाविक भएको बताउँदै झाले भने, कांग्रेसमा गुट फेरिने नौलो होइन । नेपाली कांग्रेसले संगठन सुदृढीकरणका लागि सय दिने अभियान चलाएको छ । तर अभियानसँगै पार्टीमा गुटबन्दी झाँगिन थालेको छ । गुटफेरमा लागेका नेताहरु आगामी महाधिवेशन र मधेश प्रदेशमा आफ्नो भविष्य सुनिश्चतता चाहेको बताइन्छ ।