
अवैध रूपमा सञ्चालित निजी अस्पताल पूर्ण प्रतिबन्ध लगाउँदै सरकारी अस्पतालको स्तरोन्नति गर्न माग गर्दै राष्ट्रिय एकता अभियानले मुख्यमन्त्री सतीशकुमार सिंहको पुतला दहन गरेको छ ।
अभियानका नेता कार्यकर्ताहरुको समूहले प्रादेशिक अस्पताल जनकपुर अगाडि नाराबाजी गर्दै मुख्यमन्त्री सिंहको पुतला दहन गरेका छन् । प्रदर्शनकारीहरूले सरकारी अस्पतालमा आवश्यक स्वास्थ्य उपकरण, दक्ष चिकित्सक र गुणस्तरीय सेवा उपलब्ध नभएको आरोप पनि लगाएका छन् । उनीहरूले सरकारी अस्पतालहरूमा गुणस्तरीय सेवा अभावका कारण बिरामीहरूलाई जबर जस्ती निजी अस्पतालमा पठाइन्छ, जहाँ बिरामीहरूसँग अत्यधिक शुल्क असुल्ने, अनावश्यक परीक्षण गराउने र महँगा उपचार प्रक्रिया अपनाउने जस्ता ठगीका क्रियाकलाप भइरहेको जनाएका छन् ।
उनीहरुले जनकपुरधाम क्षेत्रमा नियम विपरीत सञ्चालनमा रहेका निजी अस्पतालहरूको तत्काल छानबिन गरी अवैध रूपमा सञ्चालन भइरहेका अस्पतालहरूलाई बन्द गर्न माग समेत गरेका छन् । सो क्रममा अभियानका नेताहरू मनीष पुर्वे, अक्षय यादव, दीपु झा, पंकज झालगायतको नेतृत्वमा भएको प्रदर्शनमा सयौँ नागरिकहरूको सहभागिता रहेको थियो । उनीहरूले ‘अवैध अस्पताल बन्द गरौं, सरकारी अस्पताल सुधार गरौँ’ तथा ‘स्टन्टबाजी होइन, स्वास्थ्य सेवामा वास्तविक सुधार चाहिन्छ’ जस्ता नारा लगाउँदै सरकारको आलोचना गरेका छन् ।