
नेकपा एकीकृत समाजवादीले सरकारविरुद्ध योजनाबद्ध रुपमा आन्दोलनमा उत्रिने तयारी गरेको छ । आन्दोलनाको आवश्यक तयारी गर्नको लागि महासचिव घनश्याम भुसालको नेतृत्वमा समिति पनि गठन भइसकेको छ ।
प्रतिवेदनमा भनिएको छ, ‘हामी ससदीय मोर्चामा पनि कार्यरत छौँ । यस मोर्चालाई हामीले राम्रोसँग उपयोग गर्दै त्यहाँबाट राष्ट्रियता, लोकतन्त्र र जन सरोकारका विषयहरूलाई सशक्त ढङ्गले अगाडि बढाउनु पर्दछ । सरकारले ल्याएका जनविरोधी अध्यादेशको विरोधबाट हालै यो काम थालिसकेका छौं । अहिले हामी विभिन्न स्थानीय तहमा पनि छौँ । स्थानीय तह भनेका स्थानीय सरकार हुन् ।’
‘पार्टीका नेताहरूले सावजनिक कार्यक्रममा वा अन्तर्वार्तामा बोलेका मात्र होइन संसदमा बोलेका राम्रा कुराको समेत प्रचार भएको छैन । जनसड्गठनहरूले गरेका कामको पनि प्रचार भएको छैन’, प्रतिवदेनमा भनिएको छ, ’विरोधीहरूले हाम्रा विरुद्ध अनर्गल प्रचार गरिरहेका छन् तर हामीले त्यसको खण्डन हुने गरी प्रचार कार्य सञ्चालन गर्न सकिरहेका छैनौं । त्यसैले प्रचार कार्यलाई व्यवस्थित, व्यापक र प्रभावकारी बनाउनु जरुरी छ ।’
प्रदेश र स्थानीय कमिटीहरूले आफ्नो तहमा प्रचार विभाग गठन गरी प्रचारको ठोस योजना बनाएर कार्यान्वयन गर्ने र सामाजिक सञ्जाल सञ्चालनको योजना बनाइ अगाडि बढ्ने प्रतिवेदनमा उल्लेख छ ।
पार्टीभित्र अनुशासनहीन र अराजक प्रवृती देखिएको भन्दै पार्टीको निर्णयको उपहास गर्दै जथाभावी बोल्ने, लेख्ने प्रवृत्ति देखिएको उल्लेख छ । पार्टीमा जिम्मेवारी लिने तर त्यसलाई पूरा नगर्ने प्रवृत्ति बढेर गएको पनि उल्लेख छ ।