
किरण कर्ण
जनकपुरधाम |
देश संघीयतामा पहिलो पटक २०७८ सालमा भएको जनगणनाले स्थानीय तहसम्मको विस्तृत तथ्यांक संकलन गरेको थियो । तर यस प्रकारका तथ्यांक सम्बन्धित स्थानीय तहसम्म पुग्दा तिनलाई प्रयोग कसरी गर्ने भन्ने अन्योल छ ।
वीरगञ्ज महनगर र जनकपुरधाम उपमहानगरपालिकाले जनसंख्यिक प्रोफाइल निर्माण गरेपछि नीति बनाउन, योजना छान्न र बजेट बाँड्न सजिलो भएको छ । स्थानीय तहहरुले संकलन गर्ने तथ्यांकको विश्वशनीयतामा प्रश्न उठ्ने गरेको छ । उनीहरुले अनुसन्धानका आधार भूत विधिहरु पनि पालना नगरी गर्ने गरेका अनुसन्धानलाई प्रदेश र संघीय सरकारले मात्र होइन दाताहरुले पनि स्वीकार गर्ने गरेका छैनन् । यस उपमहानगरमा वि.सं. २०७० सालबाट गरिब पहिचान गर्ने लक्ष्य लिएर जनसाङ्ख्यिकको तथ्यांकको शुरुवात गरिएको थियो । त्यो अझैसम्म सम्पन्न भयो वा भएन भन्ने यकिन छैन
कतिपय स्थानीय तहले विभिन्न तथ्यांकको संकलन गरी जनसाङ्ख्यिक प्रोफाइल बनाउन सकेका छैनन् । केही पालिकाले भने आन्तरिकरुपमा काम गरिसके पनि सार्वजनिक गरेको छैन । जसले गर्दा उनीहरुको योजना छनोट र बजेट वितरण वैज्ञानिक हुन सकेको छैन । मधेश प्रदेशमा वीरगञ्ज महानगरपालिका र जनकपुरधाम उपमहानगरले जनसाङ्ख्यिक प्रोफाइल तयार गरेर वेभसाइटमा राखेका छन् ।
जीतपुर सिमरा उपमहानगरपालिकाले विभिन्न तथ्यांक संकलन गरी जनसाङ् ख्यिक प्रोफाइल तयार गरे पनि मिथिला नगरपालिकाले भने अझैसम्म पनि जनसाङ् ख्यिक प्रोफाइल बनाउन सकेको अवस्था छैन । जनकपुरधाम उपमहानगरपालिकाका सूचना अधिकारी उमाशंकर मल्लिकले जनसाङ्ख्यिक प्रोफाइल तयार भइसकेको जानकारी दिए । उनले भने, ‘ जनकपुरधाम उपमहानगरपालकाले जनसाङ् ख्यिक प्रोफाइल तयार गरिसकेको छ ।’ जनकपुरधाम उपमहानगरपालिकाले जनसाङ्ख्यिक प्रोफाइलमा जनसंख्याको आकार, लिंग, उमेर, भौगोलिक स्थान, जाति, धर्म, भाषा, शिक्षा, रोजगारी, आय, वैवाहिक स्थिति, जन्मदर, मृत्युदर, बसाइँसराइ, आदि जस्ता विभिन्न पक्षहरूको विश्लेषण गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिकाका सूचना अधिकारी मल्लिकले जनाए अनुसार जनसाङ्ख्यिक प्रोफाइलले जनसंख्याको वर्तमान अवस्थाको चित्रण गर्दै यसबाट जनकपुरधाम उपमहानगरपालिकाको नीति निर्माण तथा कार्ययोजना कार्यान्वयन गर्नका लागि प्रभावकारी हुने छ । तर हालसम्म सार्वजनिक नगरिए पनि यसको अन्तिम चरणमा रहेकाले केही दिनमै सो जनसाङ्ख्यिक प्रोफाइल सार्वजनिक गरिने उनको भनाइ छ ।
त्यस्तै मिथिला नगरपालिकाकी उपमेयर सुनिता सिंह बुढाथोकीले भने वडास्तरमा केही तथ्यांक संकलन गरिए पनि पूर्ण तथ्यांक संकलनका लागि काम थालिने जानकारी दिइन् । उनले पालिकाको जनसंख्या, उमेर, लिंग, जाति, धर्म, जन्म, मृत्यु, बसाइँसराइलगायतकाबारेमा केही तथ्यांक पालिकामा रहे पनि आवश्यक पर्ने थप तथ्यांकको समावेश गरी जनसाङ्ख्यिक प्रोफाइल तयारी गर्ने योजना रहेको प्रस्ट्याइन् । उनले आफूहरुसंग जनसाङ्ख्यिक प्रोफाइल नहुँदा नीति निर्माणमा पनि समस्या हुने गरेको बताइन् । उनले पालिकाको बैठकमा पनि आफू यस विषयमा छलफल गर्ने बताइन् ।
यता जीतपुर सिमरा उपमहानगरपालिकाले भने नीति तथा कार्यक्रम एवं बजेट निर्माणको क्रममा जनसाङ्ख्यिक प्रोफाइलको अध्ययन तथा अनुसन्धान गर्ने गरेको प्रवक्ता भोजबहादुर खत्रीले बताए । उनले यस पालिकाको जनसंख्या, उमेर समूह, लिंग, बसाइँसराइ, जाति, धर्म, रोजगारी, शिक्षा, वैवाहिक अवस्था, जन्म र मृत्युको अध्ययन गरेर योजना निर्माण गर्ने गरेको र सोही अनुसार बजेट कार्यान्वयन गर्ने गरिने बताए । उनले पालिका स्थापना अघि जनसाङ् ख्यिक प्रोफाइल नहुँदा वैज्ञानिक ढंगबाट वडास्तरीय विकास निर्माणका बजेट बाँडफाँट गर्न समस्या हुने गरेको स्मरण गर्दै प्रवक्ता खत्रीले भने, ‘अब जनसाङ्ख्यिक प्रोफाइल भइसकेपछि पालिकास्तरीय योजना तथा नीति निर्माणमा प्रभावकारी भूमिका देखिनेछ ।
यसले गर्दा सामाजिक, आर्थिक विकास, शैक्षिक योजना, स्वास्थ्य सेवा योजना र सर्वेक्षण, दर्ता प्रणालीलगायतकामा पनि यसबाट टेवा पुग्ने छ ।’ वीरगञ्ज महानगरपालिकाले भने जनसाङ्ख्यिक प्रोफाइल निर्माण गरी व्यवस्थित रुपमा कामकारबाही अघि बढाएको दाबी गरेको छ । वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले जनसाङ् ख्यिक प्रोफाइल अनुसार नै नीति निर्माण तथा कार्ययोजना बनाएर बजेट छुट्याइ सोही अनुसार कामकारबाही अघि बढाउने गरेको बताए ।
उनले स्वास्थ्य योजना, शिक्षा योजना, विकास योजना, सामाजिक कल्याण कार्यक्रम, जन्म, मृत्यु, बसाइँसराइ, वैदेशिक रोजगारीको अवस्था, उमेर समूह, लिंग, जातजाति, धर्मलगायतका विभिन्न कुराहरुलाई ध्यानमा राखेर योजना निर्माण तथा कार्यान्वयन गर्ने गरेको स्पष्ट पारे । वीरगञ्ज महानगरपालिकाले आफ्नो क्षेत्रमा रहेको जनसंख्याको उमेर, लिंग, स्वास्थ्य अवस्थालगायतका जनसाङ्ख्यिक तथ्यांकको आधारमा स्वास्थ्य सेवाको योजना बनाउने गरेको छ । कुन क्षेत्रमा कस्तो स्वास्थ्य सेवाको आवश्यकता छ, कुन उमेर समूहका लागि कस्ता कार्यक्रम ल्याउनुपर्छ भन्ने कुराको निर्णय जनसाङ्ख्यिक प्रोफाइलको आधारमा गरिने गरेको उनले भने ।
सो महानगरपालिकाले विद्यालय जाने उमेरका बालबालिकाको संख्या, विद्यालयको अवस्था, शिक्षकको उपलब्धतालगायतकाको तथ्यांकको आधारमा शिक्षा योजना बनाउने गरेको छ । यस क्षेत्रको विकासको लागि योजना बनाउँदा पनि जनसाङ्ख्यिक प्रोफाइलको प्रयोग गर्ने गरेको छ भने कुन क्षेत्रमा कस्तो पूर्वाधारको आवश्यकता पर्छ, कुन क्षेत्रमा रोजगारीको अवसर सिर्जना गर्न सकिन्छ भन्ने कुराको निर्णयका लागि पनिजनसाङ् ख्यिक तथ्यांकको आधारमा कामकारबाही गर्न सहज प्रदान हुने गरेको उनले बताए ।
सोही अनुसार सामाजिक कल्याण कार्यक्रमका लागि पनि ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, गरिब तथा असहाय परिवारका लागिसञ्चालन गर्ने गरेको उनले बताए । सो कार्यक्रमहरूको लक्षित समूह पहिचान गर्न र कार्यक्रमलाई प्रभावकारी बनाउन जनसाङ्ख्यिक प्रोफाइलको आवश्यकता हुने गरेको उनको भनाइ छ । जनसाङ्ख्यिक प्रोफाइलले वीरगञ्ज महानगरपालिकालाई आफ्नो क्षेत्रको आवश्यकता र समस्याहरू पहिचान गरी सोको अध्ययन तथा अनुसन्धानको माध्यमबाट योजना निर्माणका लागि उपलब्धि देखिन्छ । यसले वीरगञ्ज महानगरपालिकाको विकासलाई थप प्रभावकारी र व्यवस्थित बनाउन सहयोग मिल्ने उनले बताए ।