रौतहटको मौलापुर नगरपालिका पतौरामा उत्खननको क्रममा कर्नाटकाल मन्दिर पछि अर्को महत्वपूर्ण गुप्तकालिन ऐतिहासिक मन्दिर फेला परेको छ ।
पतौरामा डेढ दशक अघि कर्नाटककालको शिवमन्दिरको अवशेषहरु फेला परेको थियो । सोही मन्दिरमा प्रत्येक बर्ष महाशिवरात्रीको अवसरमा मेला लाग्ने गर्दछ । कर्नाटकालीन मन्दिरको छेउमा उत्खननको क्रममा गुप्तकालिन मन्दिर फेला परेको मेयर रिनाकुमारी साहले बताएकी छिन् । पुरातात्विक विभागको रेखदेखमा उत्खनन पश्चात गुप्तकालिन मन्दिर फेला परेको विज्ञले जनाएका छन् ।
पुरातात्विक विभागले नियमित उत्खनन नगरी कहिले गर्ने र छोड्ने कामले कतिपय बस्तुहरु नष्ट भईरहेको मेयर साहले गुनासो गरेकी छिन्। उत्खनन गरी परिक्षणका लागि लागि चार बर्ष अघि यहाँबाट लगिएको बस्तुहरु पुरातात्विक विभागले अझै सार्वजनिक गरेको छैन उनले भनिन कतिपय बस्तुहरु त नष्ट हुनसक्ने भएकाले त्यसलाई परिक्षण पश्चात सार्वजनिक गर्नुपर्ने हाम्रो माग हो ।
सरकारले पनि यसको संरक्षण र प्रवद्र्धनमा ध्यान दिन आवश्यक छ । पतौरामा मन्दिर छेउमा पुरातात्विक विभागले उत्खनन जारी नै राखेको छ ।त्यसलाई निरन्तरता दिनुपर्ने माग मेयर साहको रहेको छ । मौलापुर नगरपालिका पतौरा स्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पुरातात्विक महादेव मन्दिरलाई विश्वसम्पदा सूचिमा सूचिकृत गराउने संकल्प सहित नगरपालिकाले २०७६ साल देखि प्रत्येक बर्ष मधानी महायज्ञको आयोजना गर्दै आएको छ ।
यस बर्ष पनि नगरपालिकाको आयोजनामा मधानी महायज्ञ आउँदो फागुन ११ गतेदेखी सुरु हुँदैछ । मधानी महायज्ञ प्राचिन यज्ञ हो यो यज्ञमा बिना ब्राह्मण नै मन्त्रको जप हुने गरिन्छ । मधानी महायज्ञको फागुन ११ उदघाटन समारोह, १२ फागुनमा शिव वारात यात्रा, १३ गते मधानी विशेष पुजा समारोह, १४ गते मधानी विशेष सांस्कृतिक समारोह र १५ गते मधानी विशेष दंगल कार्यक्रम रहेको आयोजक मौलापुर नगरपालिकाले जनाएको छ । मेयर साहका अनुसार हामीले सक्दो प्रयास जारी राखेका छौं, यहाँको पर्यटन प्रबद्र्धनमा काम भईरहेको छ ।
बिश्वसम्पदा सूचीमा सूचीकृत गर्नका लागि हाम्रो बलबुता लगाईरहेका छौं । तर केन्द्रले ध्यान नदिएको कारण ओझेलमा परेको छ। पर्यटन प्रवद्र्धनका साथै संरक्षणको क्षेत्रमा पहल गर्दै पुरातात्विक महादेव मन्दिर लाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्नका लागि सरकार संग माग गरेकी छिन् । अहिले जतिपनि उत्खनन भईरहेका छन् त्यस मध्ये पतौराको सबैभन्दा पुरानो भएको बताउदै उनले गुप्तकालिन ति सम्पदाको संरक्षण, प्रवद्र्धन गर्ने जिम्मेवारी सरकारको भएको उनले बताइन् ।


