
भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा शंकास्पद मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्साल को अन्त्येष्टि मध्यरातमै गरिएको छ।
भैरहवाको स्वर्गद्वारी घाटमा हजारौँको उपस्थितिमा उनको दाहसंस्कार गरिएको हो। अन्त्येष्टिमा परिवार, आफन्त, स्थानीयबासी तथा सहपाठीहरू सहभागी भएका थिए।
राति भैरहवा परिक्रमा गराएर शवलाई स्वर्गद्वारी घाट पु(याइएको थियो, जहाँ हजुरबुवा देवनाथ लम्साल ले मुखाग्नि दिएका थिए।
प्रकृतिको निधनपछि भैरहवा शोकमग्न छ। बुधवार साँझ उनको शव नेपाल आइपुगेसँगै परिवार, आफन्त र स्थानीयवासी शोकमा डुबेका छन्। घरमा सयौँ व्यक्ति पुगेर परिवारलाई समवेदना प्रकट गरेका छन्।
२०६१ असार ४ गते जन्मिएकी प्रकृति लम्साल आइतबार भारतको केआईआईटी छात्रावासमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।
प्रारम्भिक अनुसन्धानमा कलेजकै एक नेपाली युवकको यातनाका कारण उनले आत्महत्या गर्न बाध्य भएको खुलेको छ। भारतीय प्रहरीले ती युवकलाई पक्राउ गरी अनुसन्धान जारी राखेको छ।
घटनापछि केआईआईटीमा अध्ययनरत अन्य नेपाली विद्यार्थीहरू पनि असुरक्षाका कारण स्वदेश फर्किरहेका छन्।