अपडेट 
२०८१ फाल्गुन ८, बिहीबार ११:११

प्रकृति लम्सालको मृत्युपछि न्याय माग्ने विद्यार्थीहरुमाथि दुव्र्यवहार र कुटपिट भएपछि कलेज छोड्न बाध्य भएका नेपाली विद्यार्थीहरुलाई फर्काउने प्रयासमा ओडिसा सरकारले हेल्पडेस्क स्थापना गरेको छ ।

ओडिशा सरकारको उच्च शिक्षा विभागले भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) २४ सै घण्टा सञ्चालन हुने हेल्प डेस्क गठन गरेको हो ।

सरकारले उक्त घटनापछि प्रभावित विद्यार्थीहरूको सुरक्षा, शीघ्र पुनरागमन र शैक्षिक चासोलाई सुरक्षित गर्न विशेष पहल स्वरूप यो हेल्प डेस्क स्थापना गरेको जनाएको छ ।

हेल्प डेस्कको नेतृत्व निर्देशक काली प्रसन्न महापात्रले गरेका छन् । उनलाई उपनिर्देशक डा. रजत मनसिंहले सहयोग गर्ने छन् । उनीहरु मातहत ९ जना कर्मचारीहरूलाई चौबीसै घण्टा हेल्पडेस्कमा खटाइएको छ ।

यो हेल्प डेस्कमार्फत विद्यार्थीहरूले आफ्नो समस्या समाधानका लागि सहज रूपमा सम्पर्क गर्न सक्ने बताइएको छ । त्यसका लागि हेल्प डेस्कमा ह्वाट्सएप नम्बर र चारवटा ल्याण्डलाइन टेलिफोन नम्बर उपलब्ध गराइएको छ ।

ओडिसा सरकारले प्रभावित विद्यार्थीहरू र अभिभावकहरूलाई शीघ्र संस्थामा फर्कन तथा पढाइ पुनः सुरु गर्न हेल्प डेस्कमार्फत सम्पर्क गर्न आग्रह गरेको छ ।

‘उक्त हेल्प डेस्क तत्काल प्रभावकारी रूपमा लागू हुने छ,’ ओडिसा सरकारका विशेष सचिवले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘विद्यार्थीहरूलाई शीघ्र पुनरागमनमा सहायता पु¥याउने तथा व्यक्तिगत कल्याणसँग सम्बन्धित कुनै पनि समस्या समाधान गर्न यो हेल्प डेस्कले सक्रिय रूपमा काम गर्ने छ ।’

ओडिसाको राजधानी भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयको कलेजमा बी–टेक अध्ययन गरिरहेकी प्रकृति गत आइतबार होस्टलको कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । उनको शव बुधबार राति रुपन्देहीको सिद्धार्थनगरस्थित स्वर्गद्वारीघाटमा अन्त्येष्टि गरिएको छ ।

Comment


Related News

Latest News

Trending News