
सिराहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदायका घटनामा परिवारले पूरक जाहेरी दिएका छन्।
फागुन १ गते उनका परिवारले रूपेश मन्डलविरूद्ध आत्महत्या दुरूत्साहनको जाहेरी दिएका थिए। अहिले थप व्यक्तिलाई प्रतिवादी बनाउँदै बलात्कार कसुरमा अनुसन्धान गर्नुपर्ने माग राखेर पूरक जाहेरी दिएका हुन्।
बिहीबार दिउँसो जाहेरी दर्ता गरेर अब अनुसन्धान अगाडि बढाउने जिल्ला प्रहरी कार्यालय सिराहाको प्रवक्ता डिएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए।
‘बलात्कार कसुरमा जाहेरी दर्ता भएको छ, अब दुबै जाहेरीमा प्रहरीले अनुसन्धान गर्छ,’ डिएसपी पासवानले भने।
रिंकु कुमारीका परिवार वा दलित समुदायका अभियन्ताहरू बलात्कारको मुद्दा दर्ता गराउनका लागि तीन दिनदेखि इलाका प्रहरी कार्यालय पुगेका थिए।
माघ ३० गते सदाय आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्।