अपडेट 
२०८१ फाल्गुन ९, शुक्रबार ०७:०२

राजनीतिक दलहरुले वडास्तरसम्म संगठन सुदृढीकरणका लागि विभिन्न नामले अभियान चलाइरहेको बेला सांसद अमरेश सिंह भने ‘जनसंवाद’ कार्यक्रम लिएर जिल्ला दौडहा शुरु गरेका छन् ।

जनताको घरदैलोमा नै पुगेर उनीहरुको समस्या सुन्ने र समाधानको विषयमा छलफल गर्ने जनसंवादको उदेश्य रहेको बताइन्छ । सर्लाही जिल्लाबाट लगातार तेस्रो पटक सांसद रहेका डा. सिंह पछिल्लो पटक स्वतन्त्र रुपमा सांसद निर्वाचित भएका छन् । जनसंवादमा उनी एक्लै गाउँगाउँ डुल्दै सर्वसधारण, किसान, व्यवसायी, विद्यार्थी, युवा, राजनीतिकर्मीहरुसित गाउँमै पुगेर भेट्ने गरेका छन् ।

मधेशको जिल्लाहरुमा जनसंवाद चलाउने उद्देश्यले प्रारम्भ गरिएको कार्यक्रममा डा.सिंहले जनअपेक्षा अनुसार काम हुन नसकेको बढी गुनासो आएको बताएका छन् । महोत्तरी जिल्लाको आधा दर्जन बढी गाउँ बिहीबार घुमेका नेता सिंहले महोत्तरी जिल्लामा कृषिका लागि सिँचाईको प्रचुर संभावना रहेपनि ब्यारेजमा ध्यान नदिएको बताए

‘महोत्तरी जिल्लाको हरेक पालिकामा सहजै सिँचाइ पुग्ने नदीहरु रहेका छन्’ उनले भने, तर समुचित प्रयास र पहल नहुँदा युवा जनशक्ति विदेशिन बाध्य भएका छन् । शिक्षा, स्वास्थ्य, सिँचाइलगायतको भारी समस्या रहेको स्थानीय बासिन्दाहरुले बताएको उल्लेख गर्दै उनले भने, प्राय हरेक पालिकाको समस्या एकै किसिमको छ । डा.सिंहले समग्र मधेशको समस्यालाई स्थलगत रुपमा बुझ्ने क्रममा हरेक हप्ता ५ दिन एउटा जिल्लामा समयदिने बताए । ‘भ्रमणको उदेश्य राजनीति भन्दा सर्वसधारण सम्म सिधा सम्पर्क स्थापित गर्ने हो’ उनले भने, तर महोत्तरीबाट चुनाव लडने भन्ने हल्ला निराधार रहेको छ ।

‘चुनावको बेला नेताहरुले भोट लिएर गएपछि कमै मात्र भेंटने गरेका छन्’ स्थानीय बासिन्दाहरुको गुनासो उल्लेख गर्दै उनले भने, विकासको दृष्टिले महोत्तरी जिल्ला अझै पिछडिएकै छ । विकासको संभावना भएपनि नेताहरुले ध्यान नदिँदा पछाडी परिएको सर्वसधारणको दुखेसो छ । पिपरा, मलिवारा, कञ्चनवनका किसानहरुको समस्या एकैनासको देखिएको डा.सिंहले बताए ।

‘आफैले चुनेर पठाएका जनप्रतिनिधिहरुबाट ठगिएको सर्वसधारणको व्यापक गुनासो छ ’उनले भने, मत लिएर गएदेखि नेताहरु फेरी दर्शन दिएका छैनन् । महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट लक्ष्मी महतो, क्षेत्र नम्बर २ बाट महेन्द्र राय यादव, क्षेत्र नम्बर ३ बाट महन्थ ठाकुर र क्षेत्र नम्बर ४ बाट शरतसिंह भण्डारी संसद छन् । भण्डारी संघीय सरकारमा मन्त्री छन् । उनी सर्वाधिक पटक निर्वाचित हुने सांसद मध्ये हुन् । मन्त्री त उनी झण्डै २० पटक भइसकेका छन् । ठाकुर लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) का राष्ट्रिय अध्यक्ष हुन् । लक्ष्मी महतो सत्तारुढ नेकपा एमालेका र महेन्द्र राय नेपाली कांग्रेसबाट सांसद बनेका छन् ।प्रदेश सरकारमापनि एमाले संसदीय दलका नेता सरोज यादव मन्त्री हुन् । शिक्षा, स्वास्थ्य, सिँचाई, सडक लगायतमा अत्यन्त पिछडिएको छ ।

महोत्तरी जिल्लामा सुविधा सम्पन्न निजी र सरकारी अस्पताल छैन । निजी र सरकारी क्षेत्रको शिक्षामा समेत समुचित लगानी भएको छैन् । सरकारले ध्यान नदिएको कारण सिँचाइ र सडकको अवस्थापनि कमजोर छ । महोत्तरी जिल्लाको दक्षिणी भेग भारतीय सीमासित जोडिएको छ । उत्तरी भेग पूर्वपश्चिम राजमार्गसित जोडिएको छ । साना ठूला गरी दर्जन बढी नदी छन् । सडकको स्तरोन्नती गर्न व्यवधान छैन । हरेक वर्ष वर्षायाममा नदीबाट ठूलो क्षति हुने गरेको भए पनि समयमा सिँचाईको व्यवस्था गरिएको छैन ।

नेताहरु चुनावको बेला लोभलाग्दो आश्वासन दिएर भोँट लिने गर्छन्’ स्थानीयहरु भन्छन् , जिते पनि हारे पनि अर्को चुनावमा मात्र देखा पर्छन् । महोत्तरी जिल्लामा चिनी मिल र पेपर मिल रहेका छन् । अन्य साना ठुला केही उद्योगहरु छन् । तरकारीको राम्रो उब्जनी महोत्तरीमा हुने गर्छ । १५ दिन मिथिला परिक्रमाको आधा दर्जन विश्रामस्थल र कयौं महत्वपूर्ण पर्यटकीय स्थलहरु छन् ।

जनप्रतिनिधिले ध्यान नदिँदा धरोधरहरु अलपत्र परेका छन् । सिंहको ‘जनसंवाद’ले राजनीतिक दलका नेताहरुको तनाव बढाएको देखिन्छ । स्वतन्त्र रुपमा नै रहेका डा.सिंहले आगामी चुनाव सम्म दल गठन गर्ने तयारी गरेको नेताहरुले अनुमान लगाउन थालेका छन् । तर सांसद सिंह मधेशको सबै जिल्लामा असारसम्म पुगेर जनसंवाद गर्ने बताउँछन् । भाषण एकहोरो हुने र जनताको समस्या बुझ्न नसक्ने भएकाले घरदैलोमा नै पुगेर जनसंवाद गरेको उनी बताउँछन् ।

मधेशमा मधेशी दलहरुको स्थिति कमजोर हुँदै गएको र ठूला दलहरुले वर्चस्व बढाउन थालेको बेला डा.सिंहको जनसंवादलाई राजनीतिक क्षेत्रमा अर्थपूर्ण मानिएको छ । सरकारले ल्याएको अध्यादेशको विरोधमा रहेका डा.सिंहले संघीयतालाई कमजोर बनाउन वर्तमान गठनबन्धन सरकार लागेको आरोप लगाए । संसद चलेको बखत दुई दिन प्रतिनिधि सभामा मधेशको समस्या उठाउने लगायत सरकारी विधेयकहरुको विषयमा बोल्ने र पाँच दिन एउटा जिल्लामा समस्या दिने घोषणा गरेका छन् । जनसंवादको क्रममा उनी ग्रामिण क्षेत्रमा नै बस्ने गरेका छन् ।

Comment


Related News

Latest News

Trending News