
गत सातादेखि मुलुककी दुई चेलीको कथित आत्महत्या चर्चाको विषय बनिरहेको छ । एकथरि भन्छ– गतसाता दुई चेलीको ज्यान गयो । अर्कोथरिले भन्छ– दुबै चेलीलाई ज्यान दिनु प¥यो । तेश्रोथरिले भन्छ– दुई चेलीको हत्या भयो । जिउँदो छँदा ती चेलीको हार–गुहार नसुन्ने, पिडामाथि मलम नलगाउँने समाज, आज उनिहरुको मृत्युमाथि चर्चा गरिरहेका छन् । दुःख मनाई रहेका छन् । सम्भवतः ‘मरेपछि डुमै राजा ।’ भनेको यही होला ।
घटना विवरणः
माघ २६ गते राति ९ वजे सिरहा जिल्ला नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदा शौच गर्न घरबाहिर निस्किन्छन् । गाउँकै तीन युवकले तिनलाई बन्धक बनाएर रातभरि जबर दस्ती बलात्कार गरेछन् ।
माघ २७ गते विहान ३ वजे तिनी रक्ताम्मै अवस्थामा घर फिर्ता आईछन् । आमालाई घटनाको वेलीविस्तार सुनाउँछिन् । दिनभरि रिंकुको घरमा रुवावासी अनि गाउँमा काने–खुसी हुन्छ । माघ २८ गते गाउँका कथित ठुला बडाहरु पञ्चायती बस्छन् । पञ्चायतीमा रिंकुले रुपेश मण्डल, चन्दन साह र रामविनय मण्डलले मुख थुनेर पटक–पटक बलात्कार गरेको व्यथा सुनाउँछिन । गाउँका ठुला बडाको पञ्चायतीले, पिडित रिंकुको परिवारलाई १ लाख ५० हजार जरिवाना तिर्नुपर्ने फरमान सुनाउँछ । विचरी रिंकु रोईमात्र रहन्छ । आमा निरीह बसि रहन्छिन् । मुसहर समुदायका अन्य व्यक्ति ठुलाबडाका मुखमात्र हेरि रहन्छ । तर १ लाख ५० हजार जरिवाना रुपेशमात्रले किन तिर्ने अरु दुई जनापनि त थिए ? भन्दै पञ्चायतीको निर्णय मानिदैन ।
माघ २९ गते पुनः पञ्चायती हुन्छ । रिंकुलाई पुनः आफू बलात्कृत भएको प्रमाण दिनु पर्छ । माघ ३० गते रिंकुको शव घरमै पासो लागेको अवस्थामा फेला पर्छ । रिंकुले आत्महत्या गरिन कि कसैले हत्या गरेर झुण्डियाई दियो ? अनुसन्धानको विषय होला तर रिंकुसंग लगातार चारदिनसम्म भएको अमानवीय तथा अपमानपूर्ण व्यावहारको बावजूद प्रहरीले रुपेश मण्डलमाथि आत्महत्या दुरुत्साहन सम्बन्धी मुद्दामात्र दर्ता गर्छ ।
सार्वजनिक पञ्चायतीमा रिंकु स्वयंले भनेका अन्य दुई युवकको नामपनि मुद्दामा समाहित गर्दैन् । न्याय नपाएर आत्महत्या गरेकी वा अपराधीलाई जोगाउँन हत्या गरिएकी रिंकु कुमारी सदामाथिको यो विभेदको यद्यपि धेरै कारणहरु होलान तर प्रमुख कारण हो– दलित हुनु । गरिब हुनु । निमुखा हुनु ।
राष्ट्रिय जनगणना २०७८ को तथ्यांकलाई आधार मान्ने हो भन्ने मधेश प्रदेशमा जातीय क्लस्टरको हिसाबले दलितको जनसंख्या सबभन्दा बढि छ । मधेशमा १५ दशमलव ३५ प्रतिशत दलित छन् । त्यसपछि यादवको १४ दशमलव ७८ प्रतिशत र तेश्रोमा मुस्लिमको ११ दशमलव ५८ प्रतिशत छ । मधेश प्रदेशसभाका कुल १०७ प्रदेश सांसदमध्ये सबैभन्दा बढि जनसंख्या भएको दलितबाट कुल ५ जनामात्र दलित समुदायका प्रदेश सांसद छन् ।
तीमध्ये धनुषा क्षेत्रनम्बर २ (क) बाट लखन दास प्रत्यक्ष निर्वाचित छन् भने जनता समाजवादी पार्टी, नेपालबाट ललिता दास, जनमतबाट रञ्जुकुमारी मण्डल खङ, एमालेबाट पल्टी देवी महरो र कांग्रेसबाट निलमकुमारी रजक प्रदेश सांसद छन् । मधेश प्रदेश सरकारमा दलित मन्त्रीको प्रतिनिधित्व बारे हामीसबैलाई थाहै छ ।
प्रकृति लम्साल, उज्वल भविष्यको खोजीमा इन्जिनियरको पढाई गर्न भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआईआईटी) गएकी थिईन । जहाँ उनले एक युवकको यातना सह्न नसकेर कथित रुपमा आत्महत्या गरिन । रिंकु कुमारी सदा भने आफ्नै गाउँका केटाहरुबाट सामुहिक बलात्कारको सिकार भएपछि न्याय नपाएर ज्यान गुमाईन वा अपराधीलाई जोगाउँन उनको हत्या गरियो । विदेशी भूमिमा विदेशी युवकको यातना र अध्ययनरत विश्वविद्यालय प्रशासनको गैरजिम्मेवार कृयाकलापले प्रकृति लम्सालको ज्यान लियो तर प्रकृतिको रोदन प्रधानमन्त्री केपी शर्मा ओलीको कानसम्म पुग्यो । प्रधानमन्त्री ज्युले सार्वजनिकरुपमै घटनाबारे बोल्नु भयो ।
परराष्ट्रमन्त्री आरजु देउवाको कार्यालयसम्म पुग्यो । यस विषयलाई सांसदज्युहरुले संसदमा पनि उठाउनु भयो । भारतस्थित नेपाली दूतावाससम्म पुग्यो । नेपालका कथित राष्ट्रिय पत्रपत्रिकाहरुले मुख्यपृष्ठका समाचार बनाए । फलो अप स्टोरीहरु प्रकाशित गरे । सम्पादकीय लेखियो । पत्र पत्रिकाका विचारकहरु पनि लेखियो । यद्यपि प्रकृति लम्साल पुनः जिवीत हुने छैनन् ।
प्यारी छोरी गुमाएकी आमा बूवाको पिडा यसबाट घटनेपनि होइन । तर प्रकृतिको हकमा राज्य र राज्यका संयन्त्रहरुले आफ्नो न्युनतम धर्म निर्वाह गरेको भन्न सकिन्छ । आरोपीहरु फरार भई सकेपछि मधेश प्रदेश प्रहरीले छानविन समिति बनाएर छानविन सुरु गरेको छ । रिंकुको परिवारसंग भेंट्न पत्रकार पुग्न थालेका छन् । नेताजीहरुको दौडहा सुरु भएको छ ।
मानव अधिकारवादीहरुको ओइरो लाग्न थालेको छ । विभिन्न राजनीतिक दलसंग आवद्ध दलित संघ संगठन तथा दलित अगुवाहरु पुग्न थालेका छन् । यिनीहरुको दबावमा आठ जनामाथि कर्तव्य ज्यान, जबर्जस्ती करणी, शरीर बन्धक र लेनदेन मिलापत्र गरि चार कसुरमा पूरक जाहेरी परेको छ । सामूहिक बलात्कार आरोपमा तीन र पञ्चायती गरेर गाउँमै मिलाउन खोजेको आरोपमा ५ जनाको नाम किटान गरिएको छ ।
समयमा न्याय नपाउँनु पनि आफैमा अन्याय हो । माघ २६ गते राति रिंकुसंग बलात्कार भएको थियो । गाउँलेहरु यस विषयमा पूर्णतः जानकार थिए । टोल–टोलमा घुमुवा खटाउँने जिल्ला प्रहरी कार्यालय, सिरहालाई सामुहिक बलात्कारको घटनाबारे चार दिनसम्म थाहा नहुनु भनेको प्रहरी संगठनमाथि ठुलै प्रश्न हो । प्रहरीले घटनाबारे थाहा पाएन कि राजनीतिक दबावमा चुप बसि रह्यो ? वा दलित भएकै कारण समयमा अनुसन्धान सुरु गरिएन ? आह ! रिंकु , वाह ! सरकार ।।