
मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले जनकपुरका अस्पतालहरूले बिरामीसँग गम्भीर लापरबाही गरिरहेको पाइएको बताएका छन् ।
आफ्नो फेसबुक पेजमार्फत एक भिडियो सन्देश जारी गर्दै दुई साता गरिएको अनुगमनको अनुभव सुनाउँदै जनकपुरमा स्वास्थ्य क्षेत्रमा भयङ्कर लापरबाही भएको पाइएको मुख्यमन्त्री सिंहले खुलासा गरेका हुन् । उनले जनकपुरका अधिकांश अस्पतालहरूमा एनेस्थेसिया चिकित्सक बिनै अप्रेसन हुने गरेको बताएका छन् । उनले भनेका छन्, ‘जनकपुरको धेरै अस्पतालको अनुगमन गरे, तर त्यहाँ सबै गम्भीर लापरबाही रहेको पाइएको छ । जुन पहिलोपटक खुलासा गर्दैछु, त्यो हो–एनेस्थेसिया चिकित्सक बिनै अप्रेसन हुनु ।’
उनका अनुसार अप्रेसन कक्षमा बिरामीहरूको शल्यक्रिया गर्दा एनेस्थेसिया चिकित्सक हुनुपर्ने अनिवार्य हो । तर जनकपुरका अधिकांश अस्पतालहरूमा त्यो चिकित्सकबिनै तालिम लिएकाहरूबाट अप्रेसन हुने गरेको पाइएको उनले बताएका छन् ।
उनी भन्छन्, ‘अप्रेसनको बखत अनुगमनमा जाँदा अधिकांश अस्पतालमा एनेस्थेसियाको चिकित्सक पाइन, त्यहाँ नामको लागि मात्रै एनेस्थेसियाको चिकित्सकको नाम लेखिएको हुँदोरहेछ । तर भौतिकरुपमा अप्रेसन कक्षमा भने २/४ महिना तालिम लिएकाहरूलाई राखिएको हुन्छ, अनि उसैको भरमा अप्रेसन हुँदोरहेछ ।’
उनले आम जनताको स्वास्थ्यसँग गम्भीर खेलबाड भइरहेको सुनाए । एसिस्टेन्टरको भरमा अस्पतालहरूले अप्रेसन गरिरहेको अनुगमनका क्रममा पाइएको उनको भनाइ छ । यही कारणले अप्रेसन गरिएका बिरामीहरूको रिकभरीको समस्या आइरहेको उनले बताएका छन् । अस्पतालहरूमा देखिएका समस्या कडाइका साथ समाधान गर्ने उनले बताए ।