२०८१ फाल्गुन ११, आईतवार ०७:५४

भारतको उत्तरप्रदेश स्थित प्रयागराजमा लागेको विशाल महाकुम्भमा स्नान पश्चात अयोध्या स्थित राममन्दिर दर्शन गर्न परिवार सहित पुगेकी सप्तरीकी एक युवती एक सातादेखि वेपत्ता छन् ।

सप्तरीको राजविराज नगरपालिका ७ हटिया बजारका २० वर्षीया रोशनी कुमारी साह यसरी वेपत्ता भएकी हुन । रोशनी मधेश आन्दोलनका सहिद स्व. दिलीप साहकी आफनै भतिजी हुन् । आमा फुलकुमारी, बुवा वीरेन्द्र र दाजु विकास सँगै फागुन ३ गते शनिबारका दिन राममन्दिर दर्शन पश्चात फर्किदै गर्दा मन्दिरको ३ नं. गेटमा अचानक उर्लिएको भीडमा उनी सम्पर्क विहीन भएको परिवारजनको भनाई छ । ‘बिहान ८ः३० बजेको समय थियो, मन्दिरमा निकै भिडभाड थियो, फर्किने क्रममा ३ नं. गेट नजिकै चप्पल जुत्ता राखेको ठाउँमा पुग्दा छोरी रोशनी अचानक सम्पर्कविहीन भईन, बुवा वीरेन्द्रले भने– तत्कालै भारतीय प्रहरीको खोयापाया केन्द्र (हराएका व्यक्तिबारे सूचना दिने केन्द्र) मा पुगी जानकारी गराए, तर एक साता वितिसक्दा पनि कुनै पत्तो लाग्न सकेको छ्रैन ।

‘बुवा वीरेन्द्र , आमा फुलकुमारी र दाजु विकास भारतीय नागरिक कुनौली निवासी समाजसेवी रंजित कुमार सिंहको सहयोगमा अहिले पनि भारतको अयोध्यामै बसेर रोशनीको खोजतलासमा जुटेका छन् । तर कतैबाट कुनै सुराक फेला पर्न सकेको छैन । परिवारजनले अयोध्या स्थित भारतीय प्रहरीका एसएचओ अभिमन्यु सुकला, सिओ अरुण श्रीवास्तव र सिएएसइआईओ आशुतोष तिवारी लगायतका प्रहरीका उच्च अधिकारी समेतलाई भेटेर खोज तलासमा सहयोग गर्न आग्रह गर्दै आएका छन् । तर अहिले सम्म कुनै सफलता मिल्न सकेको छै्रन ।

भारतीय प्रहरीले मन्दिर परिसर तथा आसपासका सिसिटिभि क्यामराका फुटेज पनि नियालेका छन् । जसमा उक्त दिन कालो सुरुवाल, गुलाबी कुर्ता र सेतो स्वेटेर लगाएकी रोशनी कालो ब्याग झुण्डयाएर मन्दिरको ५ सय मिटरको दुरीमा रहेको दन्ताबन कुण्ड तर्फ बढीरहेको र सेतो टिसर्ट लगाएका तिन जना युवक एक आपसमा केही इसारा गर्दै उनलाई पच्छाइरहेको स्पष्ट देखिन्छ ।

कुण्डको गेट भित्र प्रवेश गरेपछि भने सिसिटिभि क्यामरा जडान नभएका कारण त्यसपछिको अवस्था पत्ता लगाउन कठिन भएको भारतीय प्रहरी अधिकारीहरुको भनाई छ । यद्यपि खोज तलासको क्रम अहिले पनि जारी रहेको भारतीय प्रहरीलाई उधृत गर्दै रोशनीका परिवारजनले जनाएका छन् । तर भारतीय प्रहरीले भने झै सक्रियता नदेखाएको र आफुहरु बहिनीको खोजमा भौतारिनु परेको दाजु विकासको भनाई छ । सिसिटिभि फुटेजमा बहिनीलाई पच्छाई रहेका तीन जना युवकले अपहरण गरेको हुन सक्ने आशंका समेत व्यक्त गर्दै उनले बहिनीको अवस्था पत्ता लगाई सकुशल उद्घारमा सहयोग गर्न सबै सँग आग्रह गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले तीर्थयात्राका लागि भारतको अयोध्या पुगेकी राजविराजकी एक युवती परिवारजनसँग सम्पर्कविहीन भएको कुरा सुनिएको भन्दै सो बारे उनका परिवारजनले लिखित रुपमा जानकारी गराएपछि खोजतलासका लागी आफुहरुले पनि भारतीय उच्च प्रहरी अधिकारीहरु सँग समन्वय गरी आवश्यक पहल गर्ने बताए ।

यहाँबाट अहिले दैनिक सयौंको संख्यामा तीर्थयात्रुहरु कुम्भस्नानका लागी भारतको प्रयागराज तथा अयोध्या स्थित राममन्दिर दर्शनका लागि पुग्ने गरेका छन् । अत्यधिक भीडभाड तथा बेलाबेलामा मच्चिने भागदौडका कारण धेरै तीर्थयात्रीहरु अझै पनि हराईरहेको र परिवारजन खोजी कार्यमा भौतारिरहेको बुझिएको छ ।

Comment


Related News