२०८१ फाल्गुन ११, आईतवार ०९:१५

ताप्लेजुङको फुङलिङमा अनिश्चितकालीन निषेधाज्ञा जारी भएको छ।

आइतबार बिहान ५ बजेदेखि लागु हुनेगरी जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले फुङलिङ नगरपालिकाका चार किल्ला तोकेर अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो।

पाथीभरामा केबलकार निर्माणको विरोध गर्दै आएको समूह र प्रहरीबीच शनिबार राति फुङलिङ बजारमा झडप भएको थियो।

झडपमा ८ जना प्रहरी र आन्दोलनकारीहरू घाइते भएका थिए। त्यसपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो।

जिल्ला प्रशासन कार्यालयले फुङलिङ बजार क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुसका कारण स्थानिय स्तरमा हुलदंगा, झडप र प्रतिकुल स्थितिको सृजना भई शान्ति सुरक्षा भंग हुन सक्ने परिस्थितिका कारण अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको सूचनामा उल्लेख छ।

फुङलिङ नगरपालिका बजार क्षेत्रको पूर्वमा वडा नम्बर ७ सल्लेरी, पश्चिममा वडा नम्बर ७ घोडेचौरको थलाङ धारा क्षेत्रसम्म, उत्तरमा वडा नम्बर ४ उकालीपानी र दक्षिणमा वडा नम्बर ६ शेर्पा टोलको भेटनरी कञ्चनजंघा टोलसम्मको क्षेत्रमा निषेधाज्ञा तोकिएको छ।

त्यस्तै काफ्लेपाटी-बल्लुडाँडा क्षेत्रमा पूर्वमा पर्यटक प्रहरी भवनको १०० मिटर इलाका र पश्चिममा बल्लुडाँडा/डडेले इलाकामा  निषेधाज्ञा तोकिएको छ।

निषेधित क्षेत्रमा ५ (पाँच) जना भन्दा बढी व्यक्ति भेला भई सभा, जुलुस प्रदर्शन घेराउ जस्ता कार्यक्रम गर्न निषेध गरिएको सूचनामा उल्लेख छ।

घोषित अवधिभर जारी आदेशको उल्लंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने कुनै पनि व्यक्ति वा समूह उपर प्रचलित कानून बमोजिम कारबाही हुने जानकारी स्थानीय प्रशासनले गराएको छ।

Comment


Related News

Latest News

Trending News