
आइसिसी च्याम्पियन्स ट्रफीमा आज बहुप्रतिक्षित भारत र पाकिस्तानबीच खेल हुँदैछ। प्रतियोगिताको आयोजक पाकिस्तान भए पनि यो खेल आज दिउँस पौने तीन बजेदेखि दुबईमा सुरु हुनेछ।
भारतले सुरक्षाको कारण देखाउँदै पाकिस्तान भ्रमण गर्न अस्वीकार गरेपछि भारतका सबै खेल युएईमा हुँदैछन्।
पाकिस्तानमा २९ वर्षपछि आइसिसी प्रतियोगिता भए पनि उसले भारतविरूद्धको खेल भने देशबाहिर खेल्नु पर्ने बाध्यता छ। समूह ‘ए’ मा रहेका दुवै टोलीले यसअघि एक एक खेल खेलिसकेका छन्।
जसमा भारतले बंगलादेशलाई पराजित गरेको थियो। तर पाकिस्तानले भने घरेलु मैदानमा न्युजिल्यान्डसँग हार ब्यहोरेको थियो।
सेमिफाइनल सम्भावना कायम राख्न पाकिस्तानले आज भारतलाई पराजित पर्नु बाध्यता छ।
एकदिवसीय खेलमा पाकिस्तानले भारतसँग पछिल्लो आठ वर्षमा तेस्रो खेल खेल्न लागेको छ। सन् २०१७ को पछिल्लो च्याम्पियन्स ट्रफीमा पाकिस्तानले भारतमाथि १८० रनको जित निकालेको थियो। सन् २०२३ को विश्वकपमा भने भारतले घरेलु मैदानमा पाकिस्तानलाई ७ विकेटले पराजित गरेको थियो।
भारत र पाकिस्तानबीच सन् २०११ यता टी-२० र एकदिवसीयका कुल १३ वटा खेल भएका छन्। जसमा भारतले दुई खेल मात्र गुमाएको छ।
सन् २०१७ को च्याम्पियन्स ट्रफी १८० रन र २०२१ मा भएको टी-२० विश्वकपमा १० विकेटको जित निकाल्नुबाहेक पाकिस्तानले भारतविरूद्ध ११ खेलमा हार ब्यहोरेको छ।