
भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद अवस्थामा मृत्यु भएपछि क्याम्पसमा आतंकको वातावरण छ ।
फेब्रुअरी १६ काे साँझ नेपाली विद्यार्थीको आत्महत्या घटनापछि विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीले विश्वविद्यालय परिसरभित्रै विरोध प्रदर्शन गरेका थिए । पीडितले विद्यार्थीमाथि पटकपटक शारीरिक र मानसिक दुर्व्यवहार गरेको भन्दै उजुरी दिए पनि कुनै कारबाही नभएको पीडित विद्यार्थीको आरोप छ ।
घटनापछि, विद्यार्थीको परिवारले दायर गरेको एफआईआरको आधारमा, पुलिसले भारतीय न्याय संहिता (बीएनएस)को धारा १०८ (आत्महत्या दुरुत्साहन)अन्तर्गत आरोपीलाई पक्राउ गर्याे ।
आरोपित विद्यार्थी उत्तर प्रदेशका हुन् । बुधबार प्रहरीले अभियुक्तलाई स्थानीय अदालतमा पेस गरेपछि उनलाई तीन दिनको म्याद थप गरिएको थियो ।
यस विषयमा छानबिन गर्न प्रदेश सरकारले गृह विभागका प्रमुख सचिव सत्यव्रत साहुको अध्यक्षतामा उच्चस्तरीय समिति गठन गरेको छ ।
समितिले मृतक विद्यार्थी र अभियुक्तबीच फोनमा रेकर्ड गरेको कथित कुराकानीको भ्वाइस स्पेक्ट्रोस्कोपी परीक्षण गरिने जनाएको छ । यसको अडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
घटनापछि भुवनेश्वर पुगेका विद्यार्थीका बुबाले छोरीको उजुरीमा विश्वविद्यालयले कारबाही गरेको भए यो घटना नहुन सक्ने बताएका छन् ।
तर, छोरीले आफूलाई दुव्र्यवहारबारे कहिल्यै केही नभनेको उनले बताएका छन् । छोरीको मृत्युपछि भुवनेश्वर पुगेर, साथीभाइसँग कुरा गर्दा र मिडिया रिपोर्ट हेरेपछि मात्रै यी सबै कुरा थाहा भएको उनी बताउँछन् ।
उनले भने, ‘‘घटना भएको दिन दिउँसो करिब ३ बजे छोरीसँग कुरा गरेँ । उनले क्याम्पसमा हुन लागेको कार्यक्रममा सहभागी हुन गएको र केही समय फोन नउठ्ने बताएकी थिइन् । तर साँझ करिब ५ः३० बजे विश्वविद्यालयले उनको मृत्युको खबर पाएर तुरुन्त भुवनेश्वर पुग्न भनियो ।’’