२०८१ फाल्गुन १२, सोमबार ०७:१८

पूर्वराजाको अभिव्यक्तिले देशको राजनीति तरंगित बनेको बेला जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष समेत रहेका पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले अन्तिम लडाई लड्ने तयारीमा जुट्न आग्रह गरेका छन्

विदेश भ्रमणको क्रममा यूएई( दुबई)मा आयोजित एउटा अन्तरक्रिया कार्यक्रममा अध्यक्ष यादवले विभेदकारी राज्यसत्तालाई ध्वस्त गर्न एकपटक अन्तिम लडाई लड्नुपर्ने बताएका छन् । मधेशी, आदिवासी, जनजाति, दलितहरुसित विभेद भइरहेको बेला उनले दुवईमा रहेका प्रवासी नेपालीहरुलाई राज्य विभेद हटाउन क्रान्ति गर्नुको विकल्प नरहेको बताए ।

‘एकपटक क्रान्तिमा जानु बाहेक अर्को विकल्प छैन’ उनले भने, अब आन्दोलन गरेर विभेदकारी राज्य व्यवस्था फाल्नु पर्छ ।‘ एक पटक आन्दोलन भएपछि राणा शासन फालियो, दोस्रो आन्दोलन भएपछि निरकुंश पंचायत फालियो, तेस्रो आन्दोलन भएपछि राजतन्त्र फालियो,’ उनले भने, ’चौँथो पटकको आन्दोलनले विभेदकारी राज्य सत्तालाई ढाल्नुपर्छ । तर त्यसका लागि मधेशीहरू एक जुट हुनुपर्नेमा उनले जोड दिए । सरकारले संसदमा दर्ता गरेको आधा दर्जन अध्यादेश जसपा नेपालको कारण अडकिएको छ ।

पूर्व राजाको अभिव्यक्तिले प्रतिनिधिसभाको बैठक तातिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले राजतन्त्रका लागि आन्दोलन गर्ने संसदमा उठाउन थालेको छ । पहिचानका लागि पूर्वी कोशी प्रदेशका आदिवासी जनजातिहरु आन्दोलित छन् । सरकार घेराबन्दीमा पर्न थालेको र व्यवस्था माथि नै आघात हुन सक्ने चर्चा चलिरहेको बेला अध्यक्ष यादवले आन्दोलनका लागि तयारी रहन आव्हान गरेका छन् ।

मधेश केन्द्रित दलहरुले भूमिसम्बन्धी अध्यादेश पारित गर्न सरकारलाई नसघाउनेमा एकजुट भएका छन् । तर कुनै दल संघीय र कुनै दल प्रदेश सरकारमा नेकाँ र एमाले गठबन्धनको सरकारमा सहभागी छन् । सत्ताको लुछाचुडीमा जसपा नेपाललगायत सबै मधेशी दलहरु लागेकाले मधेश आन्दोलन निर्णायक मोडमा पुगेर बिना उपलब्धि टुंगिएको थियो ।

सरकारले भूमिसम्बन्धी अध्यादेश फिर्ता नलिए अन्य ५ वटा अध्यादेशलाई समेत समर्थन नगर्ने जसपा नेपालको अडानले नेपाली कांग्रेस र एमाले गठबन्धनको सरकार समस्यामा परेको छ । राष्ट्रिय सभामा बहुमत नरहेको सरकारलाई अध्यादेश पारित गराउन कठिन भएको छ । ‘मधेश गोरखा शासकद्वारा कब्जा गरिएको भूमि हो, केही भूमि अंग्रेजले दिएको छ भने केही कब्जा गरिएको छ,’ उनले भने, ‘कब्जा गरिएका भूमिका मान्छे शासित हुन्छन्, देशको ७० प्रतिशत राजस्व मधेशबाट आउँछ तर मधेशलाई विकास गर्न दिने बजेट हो १२ प्रतिशत छ, यसले त सयौं वर्षमा पनि मधेशले विकास गर्न सक्दैन । किनभने बजेट बनाउने ठाउँमा मधेशी छैन ।’ मधेशीहरु आर्थिक रूपमा सबैभन्दा पिछडिएको समुदाय रहेको बताएका यादवले सबैभन्दा पिछडिएको प्रदेश मधेश र सबैभन्दा पिछडिएको जिल्ला रौतहट रहेको पनि बताए ।

मधेशको चेतनास्तर निकै पछाडि रहेकाले मधेशी असंगठित पनि रहेका उनको भनाइ थियो । सरकारले संघीयतालाई संस्थागत हुन नदिएको आरोप लगाउँदै शासन र प्रशासन बिना प्रदेश सरकारले जनप्रिय कार्य गर्न कठिन रहेको उनले बताए । संघीयतालाई कमजोर बनाउन सरकारले अनेक प्रपञ्च गर्दै संविधान प्रदत्त अधिकारको समेत उपभोग गर्न नदिएको उनले आरोप लगाए ।

उनले शासन प्रशासनको अवसरबाट वञ्चित रहेका कारण मधेशी समुदाय अपहेलित जीवन जिउन बाध्य भएको पनि उनले बताए । ‘यी समस्याहरू गैरराजनीतिक तरिकाले समाधान हुँदैन’ उनले भने, राजनीति गरे पनि नगरे पनि राजनीति चेतना हुनु सबैमा आवश्यक छ । ’त्यही चेतनाले शक्तिमा पु¥याउँछ र अधिकार दिलाउँछ,’ यादवले भने, ’सत्ता, शाक्ति र राज्य स्रोतमा मधेशीको पहुँच पु¥याउनु पर्छ ।’ ‘वैदेशिक रोजगारीमा गएका नेपालीहरु मध्ये सबैभन्दा बढी मधेशीको खराब अवस्था साउदी, मलेसिया र कतारमा रहेको छ’ उनले भने, मधेशीले पठाएको रेमिटेन्स मधेशमा खर्च नगरेर अन्यत्र खर्च गरिरहेको छ ।

५ दिने भ्रमणको क्रममा उनी दुवईमा छन् । मधेशी एकता समाज दुवईले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले मधेशीहरुको अवस्था अत्यन्त दयनीय रहेकाले एकजुट भएर क्रान्ति गर्नुको बिकल्प नरहेको बताए । अध्यक्ष यादव पटक पटक विदेश मन्त्री भएर संसारका धेरै राष्ट्रको भ्रमण गरेपनि विदेशियाका नेपालीहरुको मन जित्न सकेनन् ।

अध्यक्ष यादवले मधेशीहरुको समस्याका लागि जोडदार रुपमा धारणा राखिरहेको बेला सहभागिहरुले मधेशको मतबाट पहाडका नेताहरुलाई संसद र सरकारमा पु¥याउने गरेको चर्चा गरिरहेका थिए । मधेश र मधेशीको नाममा मत लिएर पहाडी भूभागका नेताहरुलाई संसद, सरकार र पार्टीमा अवसर दिएको कारण जसपा नेपाल मधेशमा कमजोर भएको उनीहरुले टिप्पणी गरिरहेका थिए । अध्यक्ष यादव स्वदेश फर्केपछि पार्टीको कार्यकारिणी समिति र केन्द्रिय समितिको बैठक बस्ने कार्यक्रम छ ।

Comment


Related News

Latest News

Trending News