२०८१ फाल्गुन १२, सोमबार ०७:३४

धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दासको छोराबाट कुटिएका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र कुमार साहलाई स्थानीय कर्मचारीहरुले प्रवेश गर्न नदिएपछि उनी रित्तै फर्किएका छन् ।

माघ २७ मा लोकसेवा आयोगको सिफारिसमा आएकी शिक्षकलाई हाजिर गराएको निहुँमा मेयरका छोरा रामभजन दासले प्रशासकीय अधिकृत साहलाई कुटेका थिए । सो घटनाबारे उनले माघ २८ मा मेयर बेचन दास कहाँ गुनासो गरेका थिए । प्रशासकीय अधिकृत साहले माघ २८ मै ‘झोले कर्मचारी’ भन्दै करारसहितका ८३ जनालाई कारबाही गरेका थिए । उनले करार र ज्यालादारीमा कार्यरत कर्मचारीहरुलाई बर्खास्त गरे र केही स्थायी कर्मचारीको ग्रेड रोक्कासमेत गरेका छन् । कारबाहीमा परेका कर्मचारीहरु आन्दोलित छन् । उनीहरु नै प्रशासकीय अधिकृत साहलाई आज कार्यालयमा प्रवेश गर्न दिएनन् ।



उनलाई कार्यालयमा प्रवेश गराउन र शान्ति सुरक्षा दिन ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । नगरपालिकाको मुख्यद्वारमै कर्मचारीहरु आन्दोलन गरिरहेका कारण आफू भित्र प्रवेश गर्न नपाएको प्रशासकीय अधिकृत साहले गुनासो गरे । प्रशासकीय अधिकृत साहले भने, ‘अदालतको आदेशपछि सिडिओ साहेबले सुरक्षा दिनुभयो । तर झोले कर्मचारीहरुलाई हटाएपछि उनीहरु आन्दोलन गरिरहेका छन् । म पनि जर्वजस्ती नगरी नगरपालिकाको पवित्र माटोलाई ढोकेर टिका लगाई फर्केका छौँ ।’

नगरपालिकामा काम गर्ने बनाउन र सुरक्षा दिन नसकेको भन्दै जिल्ला प्रशासन कार्यालयलाई विपक्षी बनाएर प्रशासकीय अधिकृत साह उच्च अदालत जनकपुरमा रिट दायर गरेका थिए । अदालतले फागुन १३ मा दुबै पक्षलाई बोलाएर छलफल गराउन पेशी तोकेको छ भने त्यति बेलासम्म कार्यालयमा प्रशासकीय अधिकृत साहलाई पदीय दायित्व अनुसार कामकाज गर्न कुनै किसिमको अवरोध पु¥याउने कार्य नगर्नु÷नगराउनु भन्दै विपक्षीको नाममा आदेश दिएको छ ।

Comment


Related News

Latest News

Trending News