
नेपाल र भारतको नागरिकता लिएर दुई देशमा सुविधा लिने एकजना माछा व्यवसायीको कारण सयौं माछा किसानहरु मारमा परेका छन् ।
नेपाली नागरिकता र भारतीय इम्र्पोटर एक्सपोर्टर कोड(आईईसी) लिएका माछा व्यवसायीले भारतमा भारतीय नागरिकको सुविधाबाट रक्सौलसम्म आन्ध्रप्रदेशको माछा मगाउने र नेपालमा तस्करी गरी नेपाली नागरिकको हैसियतमा व्यवसाय चलाउँदै आएका विपिन साहको कारण माछा किसानहरु मारमा परेका छन् ।
विवादास्पद माछा व्यवसायी विपिन साह तुरहा द्वैध नागरिक भएको तथ्य प्रमाणले देखाएको छ । भारतमा भारतिय नागरिक र नेपालमा नेपाली नागरिक बनेर दुबै देशबाट विपिनले नागरिकलाई प्राप्त हुने सुविधा उपभोग गरिरहेको खुलेको छ । विपिन साहले भारत पटनाको संयुक्त महानिर्देशक विदेश व्यापारको कार्यालयबाट आयातक निर्यातक कोड (आईईसी) नम्बर २११७५०१४७८ बाला जी ट्रेडर्स, मछली बजार रक्सौल पूर्वी चम्पारण बिहार नागा रोडको ठेगाना उल्लेख गरी प्राप्त गरेका छन् ।
नेपाली नागरिकले नपाउने यो सुविधा विपिनले भारतमा भारतीय नागरिक विपिन साह बनेर लिएका छन् । नेपालमा उनको नाउँमा दर्ता रहेको सुरज फिस सप्लायर्समा प्रोप्राइटरको नाम विपिन साह तुरहा उल्लेख छ । तर दुवै परिचय पत्रमा तस्बीर विपिन साहकै रहेको छ । वीरगंज भन्सार कार्यालय आइ.सी.पी. क्लियरिङ एजेण्ट संघका अध्यक्ष राजमान तामाङले नेपाली नागरिकको नाउँमा आईईसी जारी हुन नसक्ने बताए ।
विपिन साहले प्राप्त गरेको आईईसी कार्डबाट नेपालमा माछा निर्यात गर्न आन्ध्र प्रदेशबाट ल्याउने गर्छन् । नेपाली नागरिक भएर भारतिय आईईसी कोड लिएको विषयमा जानकारी माग्दा उनले आफ्नो नाउँमा यस्तो कुनै कोड जारी नभएको दावी गरे ।‘ मेरो नाममा भारतीय कुनै प्रकारको कोड जारी भएको छैन’ उनले भने, म नेपालमा माछा व्यवसाय गरिरहेको छु । कहिले काही आन्ध्रप्रदेश लगायतबाट समेत माछा मगाउने गरेको उनले स्वीकार गरे ।
भारतको आन्ध्र प्रदेशबाट पंगास, रोहु, भकुरा र रूपचन प्रजातिका माछा नेपालमा थोरै भन्सार बुझाएर अधिकांश माछा चोरीपैठारी गरी नेपालमा भित्र्याइने हुँदा नेपाली माछा किसानहरुले प्रतिस्पर्धा गर्न कठिन भएको छ । चोरी पैठारी भएर आउने माछाको मूल्य सस्तो हुने गरेकाले बजारमा प्रतिस्पर्धा गर्न मुश्किल रहेको मत्स्य व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष अम्बिका प्रसाद अधिकारीले बताए ।
विपिनले भारतको आन्ध्र प्रदेशबाट झिकाएको माछा रक्सौलको माछा बजारमा भण्डारण गरी बाराको बरियारपुर, पिपरा बेनौली, छतवा, बसतपुर र बलरामपुर पर्साको भकुवा, अलौ, अमारपट्टी, बुडगाई, सिक्टा र भिस्वा नाका भएर दैनिक २० औं टन माछा अबैध रुपमा भित्र् याउने गरेको माछा किसानहरु बताउँछन् ।
रामबाबु तुराहा, श्यामबाबु तुरहा, राहुल तुरहा, उमेश पटेल र जालन्धर तुरहा बोर्डरमा माछाको लाइन मिलाउने काममा खटिएको बताइन्छ । वीरगंज भन्सार कार्यालय आइ.सी.पी. बाट विपिनले दैनिक पिकअप र ट्रकमा न्यून राजस्व तिरेर कमसल फर्मालिन हालेको माछा भित्र्याउने गरेको र जाँचकीको मिलेमतोमा आफ्नो एजेण्ट मुस्तफा मार्फत प्रत्येक पिकअपमा नियमले ४८ ट्रे माल हुनु पर्नेमा मिलाएर ५६ ट्रे ट्रक भित्र १४५ ट्रे को ठाउँमा ३०० ट्रे माछा नेपाल भित्राउने गरेको बताइन्छ ।
भारतमा माछा उत्पादक किसानलाई सरकारले भरपुर सुविधा उपलब्ध गराइरहेकाले उनीहरूको तुलनामा पाउने सरकारी सुविधा न्यून रहेकोले भन्सार कार्यालयबाट शुल्क तिरेर आउने माछासित समेत प्रतिस्पर्धा गर्न नसकिने अवस्था रहेकोमा झन् भन्सार छलेर आउने माछाले धराशायी नै बनाएको अध्यक्ष अधिकारीले बताए । ‘भन्सार काटेर आउने माछासित हामीलाई प्रतिस्पर्धा गर्न अप्ठ्यारो छैन्’ उनले भने, तर चोरबाटोबाट आउने माछासँग प्रतिस्पर्धा गर्न सकिदैन ।
अध्यक्ष अधिकारीले पशु सेवा विभागले एउटा नमुना जाँचेको भरमा ६ महिना सम्म हजारौं टन माछा आयात गर्न अनुमति दिने प्रावधानले पनि नेपाली मारमा परेकाले सरकारले त्यसमा ध्यान दिनुपर्ने उनको माग छ । राज्य पक्षबाट नै माछाको अवैध कारोबारलाई मलजल भइरहेकोले नेपाली माछा किसानहरु डुब्ने अध्यक्ष अधिकारीको चिन्ता छ ।
विपिनले पठाएको १४ सय केजी माछा गत माघ २८ गते झापा जिल्लाको सशस्त्र प्रहरीको गण नं २ ले नियन्त्रणमा लिएर नष्ट गरेको थियो । मानिसको शवलाई लामो समयसम्म कुहिन नदिन प्रयोग गरिने फर्मालिन माछामा हालेर ल्याउने गरिएको छ । मानव स्वास्थ्यको लागि अति हानिकारक मानिएको फर्मालिन प्रयोग भएको माछाको जाँच समेत नियमित रुपमा हुने गरेको छैन । फर्मालिनले माछालाई लामो समय सम्म ताजा जस्तै देखिने बनाइ राख्छ । भारतमा विपिन साह र नेपालमा विपिन साह तुरहा नाम गरेको एकै व्यक्ति रहे पनि दुवै देशका अधिकारी सम्म पहुँच रहेकाले निर्वाध रुपमा उनले सुबिधा लिइरहेका छन् ।