२०८१ फाल्गुन १३, मंगलवार १६:३३

मन्त्रिपरिषद्ले गत आर्थिक वर्षमा कार्यसम्पन्न भएका आयोजना तथा कार्यक्रमको भुक्तानी गर्ने व्यवस्था मिलाउन अर्थमन्त्रालयलाई स्वीकृति दिएको छ ।

सोमबारको क्याविनेट बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले आर्थिक वर्ष २०८०/८१ को स्वीकृत कार्यक्रम तथा बजेटमा समावेश भएका र सोही आर्थिक बर्षमा कार्यसम्पन्न भएका तर भुक्तानी हुन बाँकी आयोजना तथा कार्यक्रमको सिर्जित दायित्व भुक्तानी गर्ने व्यवस्था मिलाउन अर्थ मन्त्रालयलाई स्वीकृति दिने निर्णय भएको जानकारी दिए ।

बैठकले पुलको मर्मतसम्भारका लागि विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १५० मिलियन अमेरिकी डलर बराबरको प्रस्तावित सहुलियतपूर्ण ऋण रकम स्वीकार गर्ने सम्बन्धमा सम्झौता र कार्यक्रमको दस्तावेजलाई अन्तिम रूप दिन वार्ता टोली गठन गरेको छ । त्यस्तै नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा शरद ओझालाई नियुक्त गर्ने निर्णय भएको छ ।

त्यस्तै बैठकले २०८० वैशाख १ गतेयताका मनसुनजन्य विपदमा परी बेपत्ता भएका व्यक्तिका परिवारलाई बेपत्ता भएको व्यक्ति कम्तीमा १० दिनसम्म पनि फेला पर्न नसकेको अवस्था यकिन गरी मृतकसरह राहत उपलव्ध गराउने निर्णय भएको गुरुङले बताए ।

नेपाली सेनाको महासेनानी पदमा एकजना र सहायक रथी पदमा एकजनालाई बढुवा गर्ने निर्णय गरेको छ भने एकजना महासेनानी, दुई जना सहायक रथी र एक जना उपरथीको पदावधि थप गर्ने निर्णय गरेको छ ।

फागुन १८ देखि २२ गतेसम्म भारतमा हुने खानेपानी तथा सरसफाइ स्वच्छता क्षेत्रको बिकासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने सम्बन्धमा सहभागी हुन खानेपानी मन्त्रीलाई स्वीकृति दिने निर्णय पनि भएको छ ।

Comment


Related News

Latest News

Trending News