
जनता समाजवादी पार्टी( जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव यूएइदुबइ) मा मधेशी एकता समाजको कार्यक्रममा सहभागी भएर स्वदेश फर्केका छन् । जनमत पार्टीका अध्यक्ष सी.के.राउत दुबइमा नै छन् ।
जसपा नेपालका अध्यक्ष यादव मधेशी एकता समाज मार्फत दुबइमा स्थापित हुने प्रयासमा छन् । नेपालमा प्रवास विभाग बनाएको जसपा नेपालको विदेशमा संगठन छैन । अध्यक्ष यादवले हालै प्रवास विभाग अन्तर्गत नेपाली मधेशीहरु कार्यरत्त रहेका विभिन्न देशको जिम्मेवारी नेताहरुलाई दिएका छन् ।
जसपा नेपालको प्रवास विभाग प्रमुख सुरेश मण्डल रहेका छन् । मधेशी एकता समाजको बिभिन्न देशमा संगठन रहेको छ ।त्यसका अन्तराष्ट्रिय अध्यक्ष डा. रविन्द्र यादव हुन् । उनी जसपा नेपालसित निकट मानिन्छ । जसपा नेपालले मधेशी एकता समाजको मार्फत पार्टीको संगठन विस्तारमा लागेको छ ।
जसपा नेपालका अध्यक्ष यादव सोमबार राति स्वदेश फर्केको महासचिव रामकुमार शर्माले बताएका छन् । ‘प्रवासमा संगठन विस्तारका लागि अध्यक्ष यादवको भ्रमण केन्द्रित रहेको थियो’ उनले भने, नेपालीहरु रहेका हरेक देशमा जसपा नेपालको संगठन विस्तार गरिने छ ।
मधेश केन्द्रित दलहरु मध्ये विदेशमा नेपालीहरु माझ जनमत पार्टी बढी लोकप्रिय छ । जनमत पार्टीको विदेशमा गैर आवासीय मधेशी संघ(एनएमआर) संगठन रहेको छ । स्रोतहरुका अनुसार दुबइबाट मात्र जनमत पार्टीलाई महिनाको १४ लाख रुपैयाँ चन्दा प्राप्त हुने गरेको छ । कामका लागि विदेशिएका नेपालीहरुकै कारण गत आम निर्वाचनमा जनमत पार्टीले मधेशका जिल्लाहरुमा सर्वाधिक समानुपातिक मत प्राप्त गरेको बताइन्छ ।
जनमत पार्टीका अध्यक्ष डा.राउत संगठनलाई सकृय बनाइ राख्न विदेश भ्रमण गरिरहेका हुन्छन् । जनमत पार्टीका प्रवक्ता डा.शरद यादवले धेरै देशमा एनआरएमको संगठन रहेको बताए । ‘अध्यक्ष राउत एनआरएमकै होली मिलन समारोह र कार्यकर्ताहरुसित भेटका लागि यूएइ जानुभएको छ ’उनले भने, शनिबार दुबइ पुग्नु भएको उहाँ सोमबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
जसपा नेपालका अध्यक्ष यादव पनि होली मिलन समारोह कार्यक्रमकै लागि त्यहाँ पुगेका थिए । यादवको आगमनले दुबइमा जसपा नेपालसित धेरै युवाहरु जोडिएको धर्मेन्द्र यादवले बताए । ‘नेपालमा जनमत पार्टीले अपेक्षाकृत कार्य गर्न सकेको छैन’ उनले भने, त्यसकारण विदेशमा जनमत पार्टीबाट युवाहरु विमुख हुन थालेका छन् । दुबइमा अध्यक्ष यादव सहभागी कार्यक्रममा उल्लेख्य सहभागिता रहेको थियो । जसपा नेपाललाई सबै प्रकारको सहयोग गर्ने वातावरण बनेको कार्यक्रममा सहभागी सुरेश यादवले बताए । उनी एकता समाजका महासचिव समेत छन् । अध्यक्ष यादव दुबइमा हुँदै अध्यक्ष डा. राउत त्यहाँ पुगेका थिए ।
एनआरएमले आयोजना गरेको होली मिलन समारोह र सांस्कृतिक कार्यक्रममा डा.राउत हरेक वर्ष जाने गरेको प्रवक्ता यादवले बताए । अध्यक्ष यादवको कार्यक्रमको प्रभावलाई कम गर्न अध्यक्ष राउतले बढी नै सकृयता देखाएका छन् । प्रवासमा रहेको जनमत पार्टीको प्रभावलाई कम हुन नदिन उनी सकृय भएको दुबइका मधेशीहरुले बताएका छन् ।
विगतमा राउतको एकल वर्चस्व रहेको थियो । तर यस पटकदेखि विभाजित भएको छ । मधेश प्रदेशमा जसपा नेपाल र जनमत पार्टी एकअर्काको कट्टर प्रतिद्वन्दी मानिन्छ ।
मधेशमा बलियो संगठन जसपा नेपालको रहे पनि विदेशमा जनमतको बलियो आधार छ । भारी आर्थिक सहयोग र सबल समर्थन पाउने गरेको जनमत पार्टीलाई प्रवासमा धक्का दिने जसपा नेपालको रणनीति रहेको बताइन्छ । ‘स्वदेश र विदेशमा संगठन विस्तारको अभियान चलिरहेको छ’ महासचिव शर्माले भने, कुनै पार्टीको वर्चस्व घटाउन नभइ आफ्नो संगठन बनाउनमा हामी केन्द्रित छौँ ।
प्रवासको कारण मधेश प्रदेशमा जसपा नेपालको क्षति भएको कयौं नेताहरुको स्वीकारोक्ति छ । विदेशमा संगठन बनाउन सके जनमत पार्टीलाई धक्का लाग्ने उनीहरुको विश्वास छ । जसपा नेपाल र जनमत पार्टीको प्रतिष्पर्धा अब विदेशमा पनि हुनेछ । जनमत पार्टीका लागि ठूलो आर्थिक स्रोत रहेको प्रवासमा जसपा नेपालले पहुँच बनाए स्रोत बाँडिने बताइन्छ ।