२०८१ फाल्गुन १४, बुधबार ०८:४६

पर्सामा मिटरब्याजीविरुद्ध भएको कारबाहीमा ५६ बिघाभन्दा बढी जग्गा पीडितले फिर्ता पाएका छन् भने ३१ करोड ६० लाख रुपैयाँभन्दा बढी मिलापत्र भइ मिटरब्याजीपीडितले राहत पाएका छन् ।

जिल्ला प्रहरी कार्यालयले जनाए अनुसार मंगलबारसम्म ५ सय ७५ सोझै परेको उजुरी र जिल्ला प्रशासन कार्यालयबाट समेत प्राप्त १ हजार ६ सय ६३ गरी कुल २ हजार २ सय ३८ उजुरीमध्ये १ हजार ३ सय ३ उजुरीमा मिलापत्र भइसकेको छ । तीमध्ये प्रशासनमा २ सय २० र जिल्ला प्रहरीमा १ हजार ८३ उजुरीमा मिलापत्र भएको छ ।

कुल उजुरीमध्ये ९ सय ६ मा मेलमिलाप हुन बाँकी रहेको छ भने दर्ता भएका उजुरीउपर छानबिन गर्दा १४ पुरुष र २ महिला गरी १३ जना आरोपित पक्राउ परेका छन् । आरोपित २९ जनाउपर मुद्दा दर्ता भइसकेको छ । बढीजसो कपाली तमसुक र दृष्टि बन्धकबाट पीडित भएकाहरुको उजुरी धेरै रहेको छ ।

संख्यात्मक रुपमा पर्सा प्रहरीले मधेश प्रदेशका अन्य जिल्लाको तुलनामा सर्वाधिक उजुरीको छिनोफानो गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सुवास भट्टले दाबी गरे । सामान्यतः मिटरब्याजीले कसैलाई थोरै रकम दिएर त्यसबापतको कपाली तमसुक र दोब्बरीदेखि तेब्बरीसम्म बढीको बैक चेक धितोबापत राख्ने प्रवृत्ति रहेको छ ।

यस्ता अधिकांश घटनामा एकै व्यक्तिलाई धितोबापत सापट दिएको रकमको दोब्बरी तेब्बरीभन्दा पनि बढी रकम लेखेर कपाली तमसुक गराउने र बैंकको चेकसमेत लिएर हदैसम्म अन्याय गर्ने गरेको पाइन्छ । यस्ता घटनामा पछि ब्याजको रकम पनि साँवामा गाभेर ब्याजको मिटर कुदाउने चलन रहेको छ ।

कतिपय उजुरीकर्ता उजुरी गरिसकेपछि आफै सम्पर्कविहीन भएकाले समेत उनीहरुको उजुरीको हकमा छानबिन प्रक्रिया अघि बढाउन समस्या भएको भट्टले जानकारी दिए । राजीनामा पास गरी पीडक भनिएका व्यक्तिलाई दिइसकेको जग्गा पीडितलाई फिर्ता गराउन समस्या हुने गरेको उनले बताए ।

त्यस्तै जिल्ला अदालतबाट फैसला भइसकेका मुद्दामा पनि उजुरी पर्दा त्यसलाई प्रहरीले हेर्न नमिल्ने कानुनी जटिलता रहेको उनले बताए । पीडकहरु आफूविरुद्ध उजुरी परेलगत्तै अदालतमा निषेधाज्ञाको रिट हाल्ने प्रवृत्तिले पनि उजुरी उपरको छानबिन प्रक्रियामा जटिलता आउने गरेको उनले स्पष्ट पारे ।

Comment


Related News

Latest News

Trending News