२०८१ फाल्गुन १४, बुधबार ०८:५७

सिरहाको प्रशासनिक निकायसँग मिलेर एक भारतीय नागरिकले नेपाली नागरिकता प्राप्त गरेको खुलासा भएको छ । भारतीय नागरिक मोस्ताक मियाँले नेपाली नागरिकता बनाएको मुद्दा अहिले चर्चाको विषय बनेको छ ।

भारतको बिहार राज्यको मधुबनी जिल्लाको जयनगर ग्रामपञ्चायत देउधा टोलका मोस्ताक मियाँले सिरहा जिल्लाको नरहा गाउँपालिका–३ बाट नागरिकता बनाएको खुलेको छ । उनीसँगको कागजातमा जन्म मिति २०५५ साउन १५ र नागरिकता नम्बर १५०१८०–४३६२ देखाइएको छ ।

नागरिकता कागजातमा उनका बुवा अमानत मियाँ र आमा रजिना खातुनको नाम उल्लेख छ । तर, यो घटनामा एक ठूलो ट्विस्ट भनेको के हो भने स्थानीयवासीका अनुसार मोसताक मियाँ अमानत र रजिना खातुनका छोरा छैनन् ।

स्थानीयले उक्त नागरिकता प्राप्त गर्न मोस्ताकले नरहा गाउँपालिकाका वडाध्यक्ष रुस्तम अन्सारी र वडासचिव रामदेव मण्डलसँग मिलेर सेटिंग गरेको बताए । आरोप अनुसार मोस्ताकले नागरिकता बनाउन कागजात तयार गरेबापत वडाध्यक्ष र वडासचिवबाट मोटो रकम लिएको कुरा खुल्न आएको छ । कागजात तयार भएपछि उनलाई जिल्ला प्रशासन कार्यालयबाट नागरिकता प्राप्त गर्न सजिलो भएको थियो ।

यस सम्बन्धमा उजुरीपछि मोस्ताक सम्पर्कविहीन भएका छन् । बुबा बनेका अमानत मियाँले मोस्ताकसँगको कुनै सम्बन्ध नभएको बताए । वडासचिव रामदेव मण्डलले मोस्ताकको नेपाली नागरिकता प्राप्त गर्नमा आफूले गल्ती नगरेको बताए । उनका अनुसार अमानत र रजिना एकैपटक तीन छोराको जन्म दर्ता गरेका थिए र त्यसै आधारमा नागरिकता सिफारिस भएको हो ।

मण्डलका अनुसार मोस्ताकको बुबा बनेको कुरा झूठो आरोप रहेको दाबी गरेको छ । वडाध्यक्ष रुस्तम अन्सारीले भीडभाडको समयमा मोस्ताकको नागरिकता सिफारिस गर्दा गल्ती भएको बताए । अन्सारीले मोस्ताकको नागरिकता यहाँको मान्छे नभएको थाहा पाएपछि उनले सीडीओ अफिसमा नागरिकता खारेज गर्न सिफारिस गरेका छन् ।

सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले मोस्ताकको नागरिकता बनाउने विषयमा फोनमार्फत जानकारी भएको बताए । उनले यस विषयमा आवश्यक अनुसन्धान र कारवाही प्रक्रिया अघि बढाइने जिकिर गरे ।

Comment


Related News

Latest News

Trending News