२०८१ फाल्गुन १४, बुधबार १४:०५

युक्रेन संयुक्त राज्य अमेरिकासँग खनिज सम्झौता गर्न राजी भएको छ।

अमेरिकी मिडिया द न्युयोर्क टाइम्सका अनुसार ट्रम्पको लगातारको धम्की, दबाब र अपमानपछि किभ खनिज सम्झौताका लागि सहमत भएको हो।

खनिज सम्झौताको अन्तिम मस्यौदा अमेरिकाले मंगलबार युक्रेनलाई दिएको थियो। अब उक्त सम्झौतामा पहिले अमेरिकी ट्रेजरी सेक्रेटरी (अर्थमन्त्री) स्कट बेसेन्ट र उनका युक्रेनी समकक्षीले हस्ताक्षर गर्नेछन्।

त्यसपछि यही साता युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की वासिङ्टन आउने र ट्रम्पसँग द्वीपक्षीय सम्झौता गर्ने सहमति भएको भनेर अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै न्युयोर्क टाइम्सले जनाएको छ।

अमेरिकाले यसअघि दुई पटक सम्झौताको मस्यौदा युक्रेनलाई पठाएको थियो। दुवै मस्यौदामा उल्लिखित सर्तहरूमा युक्रेन सम्झौता गर्न तयार नभएपछि अमेरिकाले तेस्रो पटक संशोधित ड्राफ्ट युक्रेनलाई दिएको थियो।

सबभन्दा पहिले ट्रेजरी सेक्रेटरी (अर्थमन्त्री) बेसेन्टले फेब्रुअरी १२ मा खराब प्रस्ताव लिएर गएका थिए। जेलेन्स्कीले त्यसमा सहमति नजनाएपछि म्युनिख सुरक्षा सम्मेलनमा उपराष्ट्रपति जेडी भान्स र रूस अनि युक्रेनका लागि ट्रम्पका विशेष दूत किथ केलोगले अलिक राम्रो प्रस्ताव लगेका थिए।

तर रिसाएका ट्रम्पले जेलेन्स्कीलाई तानाशाह भन्दा जेलेन्स्कीले जबाफ फर्काएपछि भने ट्रम्प झन् भड्किएका थिए। ट्रम्पले रूसको भाषा बोलेपछि रिसको झोंकमा जेलेन्स्कीले ट्रम्प नियतवश गरिने दुष्प्रचारको फोकामा बाँच्चे गरेको टिप्पणी गरेका थिए।

ट्रम्पले लगाएको आरोप रूसीहरूले नियतवश गर्ने दुष्प्रचार नै भएकाले जेलेन्स्कीको टिप्पणी ठीकै हो। तर पनि देश जोगाउन ट्रम्पप्रति त्यत्रो निर्भरता रहेको बेला जेलेन्स्कीले त्यस्तरी जबाफ फर्काउन हुँदैन थियो भनेर जेलेन्स्कीकै अधिकारीहरूलाई पनि लागेको मिडियाहरूले लेखेका छन्। खासमा जेलेन्स्की पनि ट्रम्प जस्तै झडङ्ग रिसाउने स्वाभावका भएकाले ट्रम्पको झुट सुनेर उनले आवेशमा त्यस्तो प्रतिक्रिया जनाएको मानिन्छ।

Comment


Related News

Latest News

Trending News