
रौतहटको चन्द्रपुर नगरपालिका लगायत विभिन्न स्थानहरूमा सञ्चालित औषधि पसलमा औषधि व्यवस्था विभाग, वीरगञ्ज शाखाले छड्के अनुगमन गरेको छ ।
अनुगमनका क्रममा अनुमति बिना सञ्चालनमा रहेका औषधि पसलहरू पत्ता लागेका छन् भने केही पसलका सञ्चालक अनुगमन टोली आएपछि पसल बन्द गरेर भागेको पाइएको छ । औषधि व्यवस्था विभाग शाखा कार्यालय वीरगञ्जका प्रमुख अरविन्द बानियाको नेतृत्वमा आएको अनुगमन टोलीले दर्ता बिना सञ्चालनमा रहेका औषधि पसलहरूमा शिलबन्दी गरेको छ ।
टोलीले चपुर सिटी अस्पतालको औषधि पसल, डल्फिन फार्मेसी र आयु मेडिकल हल दर्ता नभएको भेटिएपछि तत्काल तालाबन्दी गरेको छ । अनुगमनका क्रममा राजमार्गमा रहेको हाइवे ट्रमा सेन्टरको औषधी पसल दर्ता प्रक्रियामा रहेको पाइएको छ । अनुगमन टोलीले उक्त औषधि पसललाई ७ दिनभित्र दर्ता प्रक्रिया पूरा गर्न निर्देशन दिएको छ ।
यस्तै, हिमालय मेडिकल हल लगायतका औषधि पसलहरूलाई कागजात नवीकरण गर्न ७ दिनको समय दिइएको छ । ती पसलहरूलाई औषधि व्यवस्था विभाग वीरगञ्ज शाखासँग सम्पर्क गर्न जानकारी गराइएको छ । अनुगमन टोलीले मौलापुरमा रहेको पटेल मेडिकल हलका सञ्चालक ओम प्रकाश पटेलविरुद्ध रौतहट जिल्ला अदालत गौरमा औषधि ऐन २०३५ अनुसार मुद्दा दर्ता गरेको छ ।
पटेलले अनुमति बिना औषधि पसल सञ्चालन गरेको र दर्ता नभएका औषधि बिक्री तथा वितरण गरिरहेको भेटिएपछि कारबाही प्रक्रिया अघि बढाइएको औषधी व्यवस्था विभाग वीरगञ्ज शाखाले जनाएको छ । रौतहटको बौधीमाई नगरपालिकाको कोपवा क्षेत्रमा सञ्चालित २ वटा औषधि पसल पनि अनुगमनका क्रममा नियम विपरीत सञ्चालन भएको पाइएपछि शिलबन्दी गरिएको छ ।
अनुगमन टोलीका अनुसार, ती पसलहरू दर्ता प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका थिए । तीन दिनभित्र गरिएको अनुगमनमा करिब २ दर्जनभन्दा बढी औषधि पसल हरूको अनुगमन गरिएको छ । औषधि पसल सञ्चालनका लागि आवश्यक कागजात तथा नियम पूरा नगर्नेहरूलाई औषधि ऐन २०३५ अनुसार कडा कारबाही गरिने औषधि व्यवस्था विभाग शाखा कार्यालय वीरगञ्जका प्रमुख अरविन्द बानियाले बताए ।
औषधि पसलहरू नियमसंगत सञ्चालन गराउने उद्देश्यले औषधी व्यवस्था विभागले बेला–बेलामा अनुगमन गर्दै आएको छ । पछिल्लो समय बिना दर्ता औषधि पसल सञ्चालन गर्ने, अवैध औषधि बिक्री गर्ने र म्याद गुज्रिएका औषधि बिक्री गर्ने प्रवृत्ति बढ्दै गएकाले अनुगमनलाई थप कडाइ गरिएको छ ।
औषधि पसल सञ्चालन गर्दा सरकारले तोकेको नियमअनुसार अनुमति लिनुपर्ने, दर्ता प्रमाणपत्र अद्यावधिक गर्नुपर्ने, तथा प्रशिक्षित फार्मासिस्टको उपस्थितिमा मात्र औषधी बिक्री गर्नुपर्ने कानुनी प्रावधान रहेको छ । तर, धेरै पसलहरू यी नियम मिचेर सञ्चालनमा आएको पाइएको छ । औषधि ऐन २०३५ को उल्लंघन गर्नेहरूलाई विभागले कडा कारबाही गर्ने चेतावनी दिएको छ ।
प्रमुख बानियाका अनुसार, नियमविपरीत सञ्चालित औषधि पसलहरूमाथि सिधै मुद्दा दर्ता गर्ने, पसलमा शिलबन्दी गर्ने, जरिवाना लगाउने तथा कानुनी प्रक्रिया अघि बढाउने कार्य भइरहेको छ । औषधि व्यवस्था विभाग वीरगञ्ज शाखाले आगामी दिनमा पनि नियमित रूपमा अनुगमनलाई निरन्तरता दिने बताएको छ । अवैध रूपमा सञ्चालनमा रहेका औषधि पसलहरू पहिचान गर्न सर्वसाधारण तथा सम्बन्धित निकायहरूलाई विभागसँग सहकार्य गर्न समेत आग्रह गरिएको छ ।