
दशौं राष्ट्रिय खेलकुदको मिति पुनः सरेको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपको बिहीबार बसेको १२१औं बैठकले दशौं राष्ट्रिय खेलकुद आउँदो जेठ ३ देखि १० गतेसम्म गर्ने निर्णय गरेको हो ।
२०७९ मा भएको नवौं राष्ट्रिय खेलकुदबाट दशौं राष्ट्रिय खेलकुद २०८१ मंसिरमा कर्णाली प्रदेशमा गर्ने निर्णय गरेको थियो ।
तर, तयारी नपुगेको भन्दै राखेपले चैत २३ देखि २९ सम्म राष्ट्रिय खेलकुद गर्ने निर्णय गरेको थियो । यो समयमा पनि नहुने देखिपछि राखेपले पुनः दोस्रो पटक मिति सारेको हो ।
राष्ट्रिय खेलकुदको मिति पटकपटक सारेको भन्दै प्रदेश खेलकुद परिषद्का सदस्य सचिवले बैठक बहिष्कार गरेको थिए । बैठकमा सहभागी सुदूरपश्चिम प्रदेश प्रखेपका सदस्यसचिवले पनि आफ्नो कुरा राखेर बैठक बहिष्कार गरेका थिए ।
गण्डकी प्रदेश प्रखेपका सदस्य सचिव श्रीधर शर्माले राष्ट्रिय खेलकुद पटकपटक सर्दा खेलकुदलाई असर गरेको बताए । उनले मिति सर्दा बजेटसमेत कम हुन पुगेको उल्लेख गरे ।
‘जेठ महिनामा सार्दा खोज्दा बर्खा लाग्दा । खेलाडीको सुरक्षा कसले लिने हो । खेलकुद क्षेत्रलाई मार पर्ने भो भनेर हामी कसरी अगाडी बढ्ने भनेर छलफल गरेर जान्छौं,’ उनले भने ।