
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले महोत्तरीको बर्दिवास रहेका पाँचवटा अस्पताललाई बन्द गर्न निर्देशन दिएका छन् ।
मुख्यमन्त्री सिंहले शुक्रबार बर्दिवासका ८ वटा अस्पताल अनुगमन गरेका थिए जसमध्ये पिनाकल हस्पिटल, सुरक्षा अर्थोपेडिक एन्ड डेन्टल क्लिनिक प्रालि, ऊँ समाज डेन्टल क्लिनिक, खर्गा डेन्टल केयर सेन्टर र खोमुसरा डेन्टल क्लिनिक प्रालिलाई बन्द गर्न निर्देशन दिएका हुन् ।
सेवा सञ्चालन अनुमतिपत्र बिनै सञ्चालनमा रहेका ती अस्पताललाई तत्काल बन्द गर्न मुख्यमन्त्री सिंहले विधि र प्रक्रियाअनुसार मापदण्ड पुरा गरी सेवा सञ्चालन अनुमति लिई मात्र अस्पताल सञ्चालन गर्न आदेस दिएका छन् ।
यसैगरी अनुगमनक्रममा बर्दिवासस्थित महेन्द्र डेन्टल क्लिनिक प्रालिले सेवा सञ्चालन स्वीकृति लिएको पाइएको छ । सेवा सञ्चालन अनुमति लिएको जनसेवा हस्पिटल प्रालि र डि.एन.बि मेडिकेयर सेन्टर प्रालिलाई नवीकरण गराउन मुख्यमन्त्री सिंहले निर्देशन दिएका छन् ।
केही समययता निजी अस्पताल अनुगमनलाई तीव्रता दिएका मुख्यमन्त्री सिंहले मापदण्डअनुसार भौतिक पूर्वाधार, स्वास्थ्य उपकरण र जनशक्ति व्यवस्थापन लगायत पुरा नगरीकनै सञ्चालनमा रहेका अस्पताल बन्द गर्न निर्देशन दिँदैआएका छन् ।
मुख्यमन्त्रीको अनुगमनमा सम्बन्धि मन्त्री, मुख्य सचिव, मुख्यमन्त्री कार्यालयका सचिवहरु, समबन्धि मन्त्रालयका अधिकारीहरु नदेखिएपछि मुख्यमन्त्री कार्यालयमा तालमेलको अभाव रहेको कतिले भन्न थालेका छन् ।