
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसमा माओवादीलाई कमजोर पार्न रौतहटमा २९ जनाको हत्या गरिएको बताएका छन्।
जनतासँग माओवादी, तराई मधेस जागरण अभियानको क्रममा शनिबार सिरहाको सिरहा नगरपालिकामा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै तत्कालीन समयमा माओवादीको बढ्दो तागतलाई रोक्ने षड्यन्त्रसहित रौतहटमा २९ जना कार्यकर्ताको क्रुरतापूर्वक हत्या भएको बताएका हुन्।
‘बढ्दो माओवादीको तागतलाई कसरी कमजोर पार्ने भनेर देशभित्र र बाहिरका प्रतिक्रियावादी दलालहरू सबै अनेक षड्यन्त्रमा लागे। त्यही प्रक्रियामा भयानक हत्याकाण्ड भयो। माओवादीका २९ जना युवाहरूको हत्या भयो,’ उनले भने, ‘क्रुरतापूर्वक, पाशविक तरिकाले हत्या गरियो।’
त्यो भयानक घटनापछि मधेसमा माओवादीप्रति भ्रम सिर्जना गर्न अनेक प्रकारका दुष्प्रचार अभियान चलाइएको प्रचण्डले बोलाए।
‘तपाईंहरूलाई पनि भ्रम भयो- हाम्रो सक्कली मित्र माओवादी हो कि माओवादी आन्दोलनबाट आन्दोलनपछि जन्मिएका मधेसवादी दल हुन्। को चाहीँ साँच्चि मधेसी जनताका निम्ति मनैदेखि, विचारदेखि र राजनीतिक मुद्दादेखि नै माया गर्ने हुन् भनेर तपाईंहरूलाई कहीँ न कहीँ एक हदसम्म भ्रम पार्ने कोशिस भयो,’ प्रचण्डले भने।
त्यो भ्रम चिर्नकै पार्टीले आफूलाई मधेसबाट चुनाव लड्ने निर्णय गराएको उनले बताए। ‘मधेसमै आएर चुनाव लडें र तपाईंहरूले मत दिएर मलाई विजयी पनि बनाउनुभयो,’ उनले भने।
यद्यपि भनेको जसरी काम अगाडि बढ्न नसकेको र पछि परिस्थिति झन् नाजुक हुँदै गएको उनले बताए।
मधेसी जनताको पक्षमा र मधेसको गणतन्त्रवादीहरुको राष्ट्रिय रूपमा सम्मान गर्नका लागि गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहलाई राष्ट्रपतिको प्रस्ताव गर्दा आफूलाई मधेसको मसिहा ठान्नेहरूले नै हराइदिएको बताए।
‘माओवादी मधेसी जनताको मुक्तिका लागि सबैभन्दा बढी त्याग र वलिदान गर्ने, झन्डै १३ सय मधेसी जनताका छोराछोरीले माओवादी विद्रोहमा ज्यान दिएका छन्। त्यसकारण मधेसको मुद्दालाई राष्ट्रिय मुद्दा मानेर मधेसको गणतन्त्रवादी नेताको छाप बनाएको मान्छेलाई पहिलो राष्ट्रपति बनाउने प्रस्ताव गरेका थियौं,’ प्रचण्डले भने।
मधेसका अरू थुप्रै विद्वानहरूलाई पनि राष्ट्रिय राजनीतिमा ल्याउन माओवादीले भूमिका खेलेको प्रचण्डले बताए।
‘तर फेरिपनि जनतामा कतै न कतै माओवादीको बारेमा भ्रम सिर्जना गर्न खोजियो। त्यसकारण यो अभियानको लक्ष्य मधेसी जनतासँग माओवादीको सम्बन्धलाई फेरि ०६४ तिर फर्काउनु हो। माओवादीबाट भएको गल्ती र कमी पनि आत्मसमीक्षा गर्नु हो,’ प्रचण्डले भने।