
सिंगो नेपाल प्रहरी संगठनलाई बदनाम गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत इन्स्पेक्टर रामकुमार महतो माथि विभागीय कारबाही थालिएको छ ।
इन्सपेक्टर महतोको माग अनुसार मुद्दा फाँट नपाएको झोँकमा जिल्ला प्रहरी कार्यालय रौतहटलाई बदनाम गराउन अनेक षड्यन्त्र गरेको खुलासा भएपछि उनीमाथि विभागीय कारबाही थालिएको रौतहट प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटको उजुरी शाखा, मिटरव्याज शाखा र महिला तथा बालबालिका सेवा केन्द्रको प्रमुख रहेकोमा उनलाई कारबाही स्वरूप हाल सबै जिम्मेवारीबाट मुक्त गरिएको जिल्ला प्रहरी कार्यालयका एक अधिकारीले बताए । ट्राफिक प्रहरी कार्यालय निजगढ बाराबाट भदौँको अन्तिम साता रौतहट सरुवा भएर आएका इन्स्पेक्टर महतो आएदेखिनै मुद्दा फाँटका लागी प्रयासरत रहेका थिए ।
मुद्दा फाँट दिलाउन उनले विभिन्न दलका नेताहरुका साथै अन्य जिल्लाका केही पत्रकारलाई पनि गुहारेका थिए । तर जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले उनीमाथि विश्वास गर्न नसकिएको भन्दै उनलाई मुद्दा फाँटको जिम्मेवारी नदिइएको स्पष्ट पारे । उनले मुद्दा फाँटको जिम्मेवारी नपाएपछि रिसाएर हालका मुद्दा फाँटका इन्स्पेक्टर उमाशंकर प्रसाद विरुद्ध कल्पोकल्पित समाचार लेख्न जिल्लाका केही पत्रकारलाई दबाब दिँदै आएका थिए । तर एसपी घिमिरेको कार्यशैली र जिल्ला प्रहरी कार्यालय रौतहटको गतिविधिबारे जानकारी रहेका रौतहटका कुनै पनि पत्रकारले इन्स्पेक्टर उमाशंकर विरुद्ध कलम चलाएनन् ।
त्यतिमात्र नभइ महतोले समाचार लेख्न भनेको बारे रौतहटका केही पत्रकारले सबैकुरा एसपी घिमिरेलाई जानकारी गराएसंगै षड्यन्त्रको खुलासा भएको थियो । जिल्लाका पत्रकारले त्यस्तो समाचार नलेखेपछि इन्स्पेक्टर रामकुमार महतोले जनकपुरधाम र बाराका केही पत्रकारलाई भनेर पछिल्लो केही दिनदेखि दिनहुँ मुद्दा फाँटका इन्स्पेक्टर उमाशंकर प्रसाद र जिल्ला प्रहरी कार्यालय रौतहटलाई जोडेर विभिन्न किसिमका समाचार लेखाउँदै आएको प्रहरीको आरोप रहेको छ ।
रौतहट प्रहरी प्रमुख एसपी घिमिरेले इन्स्पेक्टर महतोमाथि लागेको गम्भीर आरोपहरुको प्रमाण संकलन गर्नेसंगै सुक्ष्मरुपमा अनुसन्धान भइरहेको बताए । इन्सपेक्टर महतोमाथि लागेको आरोप पुष्टि भएमा संगठन बदनाम गराउनेमाथि कडा विभागीय कारबाही गर्ने एसपी घिमिरेले चेतावनी दिए ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख डिआइजी लालमणि आचार्यले घटनाबारे औपचारिक कुनै जानकारी नरहेको बताए । ‘गल्ती गर्ने प्रहरीलाई विभागीय कारबाहीको सिफारिस गर्ने अधिकार एसपीसंग छँदैछ जिल्ला प्रहरी कार्यालय रौतहटमा के भइरहेको छ, त्यसको वास्तविकता बुझेर उचित कदम चाल्ने छौँ’ डिआईजी आचार्यले भने । आरोपी इन्स्पेक्टर रामकुमार महतोले यसबारे प्रतिक्रिया दिन मानेनन् ।