
सर्लाहीको कौडेना गाउँपालिका–६ स्थित सक्रौलमा सुरुङ खनेर एकैरात पाँचवटा घरमा चोरी भएको छ ।
शुक्रबार राति चोरको समूहले सक्रौल टोलका श्रीभुपनारायण राय, राजदेव राय, तेजा सहनी, गगनदेव साह र सुकदेव रायको घरमा चोरी गरेको हो । पाँचवटा घरमा घरभित्र रहेका गरगहना, नगदलगायतका सरसामग्री चोरी भएको पीडितले बताए । आफूहरु भित्र सुतिरहेका बेला सुरुङ खनेर चोरी भएको पीडितमध्येका राजदेव रायले बताए ।
कतिपय स्थानीयले अज्ञात व्यक्ति आएर आँखामा नसालु पदार्थ छर्केर लुटपाट गरेर फरार भएको बताए । चोरको समूहले स्थानीयको घरभित्र रहेका बाकस, कपडालगायत सरसामग्री खेतमा लगेर फालेको पाइएको छ । यसअघि फागुन १२ गते राति पनि सक्रौल गाउँकै मेघन सहनी, रुचा दास, शंकर सहनीलगायतको घरमा चोरी भएको थियो ।
सर्लाहीमा यसअघि माघ २ ९ गते बसबरिया गाउँपालिकाको धनगढा गाउँको एक घर र चार दिनअघि सदरमुकाम मलंगवाको जिविक चोकको एक घरमा पनि दिउँसै ताला फोडेर चोरी भएको थियो । जिल्लामा श्रृंखलावद्धरुपमा चोरीका घटना बढ्न थालेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राइले सक्रौल गाउँमा एकैरात पाँच घरमा चोरी भएको घटनाका सम्बन्धमा स्थानीय प्रहरी चौकीबाट प्रहरी परिचालन गरी घटनाको मुचुल्का उठाएर थप अनुसन्धान भइरहेको बताए ।
मलंगवाको जिविस चोकमा दिउँसै घरको ताल्चा फोडेर चोरी भएको घटनामा पनि शकांस्पद व्यक्तिलाई बोलाएर सोधपुछ गरिरहेको डिएसपी राईले बताए ।