
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धकालमा मधेसी जनताप्रति माओवादीको ‘लभ’ भएको बताएका छन् ।
माओवादीले जनयुद्धका लागि सैन्य तालिमको व्यवस्था मधेसबाटै गरेको उनले स्मरण गरे । सिराहामा आयोजित एक सभामा भाषण गर्दै प्रचडले यहाँ आउँदा आफूलाई माइतीघरमा आएजस्तो लाग्ने पनि सुनाए ।
उनले भने, ‘तपाईंहरुसँग भेट्दा आफ्नै परिवारसँग भेटेजस्तो लाग्छ । यहाँ आउँदा म भावुक हुन्छु ।’ आफूहरु झापाबाट अभियान लिएर सिराहासम्म आउँदा जनतासँग एकाकार भएको प्रचण्डले बताए ।
‘तपाईंहरुले कत्तिको ध्यान दिनुभएको छ, झापाबाट सिराहसम्म आउँदा हामी कुनै होटलमा बसेका छैनांै । जनताले खाएको भन्दा भिन्न केही खाएका छैनाैं । जनताकै घरमा बसेका छौं । मिलेसम्म सहिद परिवारको घरमा बसेका छौं । सहिद परिवारसँग मिलेर बसेका छौं । जनताले जस्तो खान्छन्, जसरी बस्छन्, त्यसरी नै बसेका छौं,’ उनले भने ।
आफूले पहिलोपटक हतियारको तालिम पनि सिराहा–धनुषामा नै लिएको प्रचण्डले बताए ।
‘मैले पहिलोचोटि हतियारको तालिम र बम विष्फोटसँग तालिम लिएको पनि सिराहा–धनुषामै हो,’ उनले भने, ‘माओवादीले मधेसमा नै आफ्नो पहिलो प्रभाव र आन्दोलन लगेको हो । जनयुद्ध मार्फत उत्पीडित वर्गको पहिचान र अधिकारको लडाईंका लागि सैन्य तालिमको व्यवस्था मधेसबाटै गरेको हो । त्यसैले माओवादीलाई अविश्वास नगर्नुस । माओवादी तपाईंहरुको मुक्तिका लागि समर्पित पार्टी हो ।’
आफूलाई दोस्रो संविधानसभामा सिराहाले जिताएर पठाएको प्रचण्डले स्मरण गरे । आफू त्यसबेला विजयी नभएको भए नेपालमा संविधान नबन्ने उनको दावी थियो ।