
जनकपुरधामको मदर टेरेसा पब्लिक स्कूलले फागुन २४ गते ‘रन फर जनकपुर च्याम्पियनशिप’ नामक ६ किलोमिटर खुला म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ।
अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर ‘पर्यावरण र महिला सुरक्षा’ विषयलाई केन्द्रमा राखी प्रतियोगिता सञ्चालन गरिने विद्यालयले जनाएको छ।
प्रतियोगितामा १६ वर्ष वा सोभन्दा माथिका व्यक्तिहरूले सहभागिता जनाउन सक्नेछन्। प्रतियोगिताका विजेताहरूलाई क्रमशः प्रथमलाई २१ हजार, दोस्रोलाई १५ हजार, र तेस्रो स्थान हासिल गर्नेलाई ११ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने विद्यालयका निर्देशक अभिषेक कुमार चौधरीले जानकारी दिए।
विद्यालयका प्रधानाध्यापक डा. भरत जोशीका अनुसार म्याराथन भानु चोकबाट सुरु भई कदम चोक, विद्यापति चोक, जीरोमाइल, रामानन्द चोक, हस्पिटल रोड, जानकी चोक, जनक चोक, शिव चोक हुँदै पुनः भानु चोकमा समापन हुनेछ।