२०८१ फाल्गुन १९, सोमबार ०६:५९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेशीलगायत देशका उत्पीडित समुदायको अधिकार र पहिचान स्थापित गर्न सबभन्दा बढी त्याग माओवादीले गरेको बताएका छन् ।

धनुषाको कमला नगरपालिका– ३ स्थित पर्सामा आयोजित शहीद परिवार सम्मान तथा जनभेटघाटमा महिला, जनजाति, दलित, मधेशी, मुस्लिम, थारु लगायत उत्पीडित जनताको मुक्तिका लागि हजारौं शहीदले बलिदान गरेको बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले मधेशी जनताको मुक्तिका लागि एक हजार तीन सय मधेशी जनताका छोराछोरीले जनयुद्धमा बलिदान गरेको बताए ।

मधेशी जनताको मुक्तिका लागि यति ठूलो बलिदान गरेको माओवादीकै विषयमा अनेकथरी भ्रम सिर्जना गर्ने प्रयास गरिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब यो भ्रमको पर्दा च्यातेर माओवादी र मधेशी जनताबीच दह«ो एकता कायम गर्ने प्रयास गरिएको बताए । मधेशी जनताको मुक्तिका लागि मधेश राष्ट्रिय मुक्ति मोर्चा गठन गरेर मधेशी जनतामा जागरणको लहर ल्याउने, मधेश स्वायत्त जनसरकारमार्फत संघीयताको व्यवहारिक अभ्यास गर्ने, संविधानमार्फत संघीयत, समानुपातिक र समावेशी प्रतिनिधित्व स्थापित गर्ने, गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिको रुपमा रामराजाप्रसाद सिंहलाई अघि सार्ने र मधेशको विकासका लागि प्राथमिकताका साथ बजेट विनियोजन गर्ने लगायत महत्त्वपूर्ण काम आफ्नै पार्टीले गरेको उनले स्पष्ट गरे ।

अध्यक्ष प्रचण्डले अब आफूलाई मधेशका मसिहा ठान्ने दलहरूबाट मधेशी जनताको मुक्ति सम्भव नभएकाले मधेशमुक्तिको जिम्मा सम्पूर्णरुपमा माओवादीले नै लिने प्रतिवद्धता व्यक्त गरे । पार्टीका सबै पदाधिकारी अहिले मधेशमा रहेको र मधेशी पोशाकमै प्रस्तुत भएको प्रसंग कोट्याउँदै उनले सो पोशाक मात्रै नभइ आफूहरुको मन पनि मधेशमा छ भन्ने विम्व भएको उनले स्पष्ट गरे । उनले पुराना दलको सहकार्यले उनीहरुभित्रको रोग माओवादीमा पनि संक्रमण भएकाले रोगको उपचार खोज्न जनताको बीचमा आएको बताए । उनले कहिले कांग्रेस र कहिले एमालेसँग सहकार्य गर्दागर्दा उनीहरूको रोग माओवादीभित्र पनि देखिन थालेकाले पार्टीभित्र विभिन्न तहका परामर्श बैठकबाट रोग पहिचान गरेर यसको उपचार गर्ने डाक्टर जनता मात्रै हुन भन्ने निष्कर्षसहित उपचार खोज्न जनताको बीचमा आएको बताए ।

माओवादीप्रति विश्वास गरेका लाखौं लाख जनताको विश्वास कायम राख्न नसक्नु कमजोरी भएको उल्लेख उनले सबैभन्दा पहिले आफ्ना कमीकमजोरी सच्याएर जनतातिर फर्कन केन्द्रीय समिति बैठकले दिएको निर्देशनअनुसार पार्टीको सन्देश बोकेर यो अभियान थालिएको बताए ।

हुलाकी मार्ग वरिपरि सबैभन्दा धेरै उत्पीडित वर्ग र समुदायको बसोबास रहेकाले समुदायभित्रै छिरेर जनताको मनको कुरा नजिकबाट बुझ्ने कोशिस गरिरहेको बताए । त्यहीअनुरुप जनताको घरमा बस्ने, उनीहरुले जे खान्छन्, त्यही खाने, जस्तोमा बस्छन्, त्यही बस्ने हरेको अध्यक्ष प्रचण्डले स्पस्ट गरे । अध्यक्ष प्रचण्डले हुलाकी मार्ग केन्द्रित अभियानले दक्षिण नेपालको रुपरेखा फेर्न सहयोग गर्ने बताए ।

लामो समय अलपत्र परेको हुलाकी मार्ग अघि बढाउन आफूले २०७३ मा प्रधानमन्त्रीको रुपमा भारत भ्रमण गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गरी सहयोग सुचारु गरेपछि योजना अघि बढेको जानकारी दिए । प्रतिक्रियावादी दिशा उन्मुख रहेकाले नक्कली मधेशवादी दलसँग सावधान रहन उनले आग्रह गरे ।

मधेशको मुक्तिविना देशको मुक्ति सम्भव छैन भन्ने दृढ मान्यताका साथ पार्टीले सबैभन्दा पहिले मधेशी राष्ट्रिय मुक्ति मोर्चा गठन गरेर जनयुद्ध थालनी गरिएको स्मरण गराउँदै अध्यक्ष प्रचण्डले मधेशसँगै वर्गीय मुक्तिका लागि जीवन आहुति दिने एक हजार तीन सय मधेशका शहीद सहित मधेश मुक्तिका लागि ज्यान गुमाउने सबै सहिदका सपनाको जिम्मेवारी पनि अब माओवादीले लिने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादवले माओवादी जनयुद्ध र मधेश आन्दोलनका कारण मधेशी जनताले पहिचान, संघीयता, समावेशी, समानुपातिक अधिकार पाएको उल्लेख गर्दै मधेशवादी दल विभाजन र नातावाद कृपावादले अब मधेशको नेतृत्व गर्न सक्ने अवस्था नरहेकाले परिवर्तनको रक्षा गर्न माओवादीलाई बलियो बनाउने बेला आएको बताए ।

मधेशी जनताको मुक्तिका लागि आफू मधेशवादी दल छाडेर नेपाल समाजवादी पार्टी बनाएर माओवादीसँग एकताको प्रक्रियामा रहेको उल्लेख गर्दै उनले मधेसमा अब माओवादीले मात्रै बलियो शक्तिको रुपमा नेतृत्व गर्नसक्ने बताए । धनुषाको हंसपुर नगरपालिकामा विभिन्न पार्टी परित्याग गरी ५० नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

Comment


Related News

Latest News

Trending News