
रौतहटको गौरमा कृषि क्वारेन्टाईनको नहुँदा व्यापारीलाई ठूलो समस्या भइरहेको छ । कृषि क्वारेन्टाइन अभावमा गौर भन्सार हुँदै अत्यावश्यक सामान भित्र्याउन व्यापारीलाई कठिनाइ भएको छ ।
वि.स. २०३३ सालमा जिल्ला भन्सार कार्यालय गौरको स्थापना भएको थियो । सोही समय भन्सार छेउमा स्थापना हुनुपर्ने कृषि क्वारेन्टाइन कार्यालय हालसम्म स्थापना हुन नसकेको गौर भन्सार अधिकृत अमरेन्द्र सिंहले बताए । गौर भन्सार स्थापनाको ४ वर्ष पछि वि.स. २०३७ सालमा सर्लाही मलंगवा भन्सार कार्यालय स्थापना गरिएको थियो । तर गौरमा कृषि क्वारेन्टाइन कार्यालयको आवश्यकता हुँदा हुँदै पनि हालसम्म त्यसप्रति कसैले चासो नलिएको रौतहट उद्योग वाणिज्य संघ रौतहटका अध्यक्ष पण्डित प्रसाद जयसवालले गुनासो गरे ।
गौरमा कृषि क्वारेन्टाइन कार्यालय स्थापनाका लागि यस अघि नै सर्वदलीय सर्वपक्षीय भेला गरेर माग गरेपनि हालसम्म सम्बन्धित निकायले कुनै सुनुवाइ नगरेको अध्यक्ष जयसवालले दुखेसो पोखे । क्वारेन्टाइन कार्यालयका सञ्चालनलागि आवश्यक भौतिक संरचना लगायत हरेक सहयोग गर्न तयार रहेको उनले प्रतिवद्धता जनाएका छन् ।
वीरगंज र मलंगवा भन्सारको तुलनामा भारत बिहारको सितामढी, मुजफ्फरपुर, मोतिहारी, सिमान, चकियाबाट गौर भन्सार सामान ल्याउन सम्म नाका छोटो दूरीका साथै भिडभाड कम हुने रुट रहेको छ । सो रुट भएर गौरसम्म सामान ल्याउन कम खर्च संगै समय पनि कम लाग्ने गौरका व्यवसायीहरुको भनाइ रहेको छ । गौरमा कृषि क्वारेन्टाइन नहुँदा भारतबाट आलु, प्याज, धान , चमाल, मकै, दाल, फास्ट फुड र पलान्टसंग सम्बन्धित सामान आयात हुन नसकेको व्यापारीहरूको भनाइ छ ।
सो सामानहरू भारतबाट ल्याउन मलंगवा वीरगंज घुमेर आउनुपर्ने बाध्यता भएको व्यापारीहरूले गुनासो गरे । कृषि मन्त्रालयमा पटक पटक आग्रह गर्दा पनि हालसम्म कृषि क्वारेन्टाइन स्थापना हुन नसक्दा रौतहटका सैयौँ व्यापारी कठिनाइमा परेका छन् ।