२०८१ फाल्गुन १९, सोमबार १४:५९

काठमाडौंमै दुई वर्षअघि गार्मेन्ट व्यवसायी लाल मोहम्मदको हत्या भएको घटनामा संलग्न भारतीय सार्प सुटरलाई प्रहरीले पक्राउ गरेको छ।

आइतबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भारतीय सार्प सुटर गुड्डु पटेललाई टोखाबाट पक्राउ गरेको हो। उनलाई पक्राउ गर्न प्रहरीले तीन राउन्ड गोली चलाएको थियो।

कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्य गोठाटार घटनामा संलग्न रही यसअघि पक्राउ परेका चार जनासँग सोधपुछ र आन्तरिक अनुसन्धानबाट गोली हान्ने गुड्डु पटेल रहेको निष्कर्षमा प्रहरी पुगेको थियो।

त्यतिबेलादेखि नै उनको ‘मुभमेन्ट’ निगरानी गरिरहेका थियौं। उनी बीच-बीचमा काठमाडौं आउजाउ गरिरहेको सूचना पनि प्रहरीसँग थियो। यद्यपि ट्र्याक गर्न सकिरहेको थिएनौं।

केही दिनदेखि गुड्डु काठमाडौंमै छन् भनेर प्रहरीले सूचना पाएको थियो।

‘सुरूमा माछापोखरी क्षेत्रमा रहेको भन्ने सूचना थियो,’ एसपी आचार्यले भने, ‘प्राविधिक निगरानी गर्ने क्रममा लोकेशन ट्र्याक भयो र उनी टोखामा रहेको खुल्यो।’

एसपी आचार्यका अनुसार गुड्डुले ह्वाट्सएप चलाएपछि उनको लोकेशन ट्र्याक भएको थियो।  लोकेसन पच्छ्याउँदै सादा पोशाकमा रहेका प्रहरी टोखाबाट झोर जाने बाटो नजिक गुड्डु भएको ठाउँमा पुगेको थियो।

‘प्रहरी हो भन्ने निश्चित भएपछि आरोपी भाग्न खोजे। प्रहरीले नभाग्न चेतावनीस्वरूप दुई राउन्ड हवाइ फायर गर्‍यो। त्यसपछि थप एक राउन्ड गोली प्रहार गरेको हो। उनको खुट्टामा गोली लागेको थियो,’ एसपी आचार्यले भने।

गोली लागेर घाइते भएका उनलाई ट्रमा सेन्टरमा उपचार भइरहेको छ। उपचारपछि थप अनुसन्धान हुने एसपी आचार्यले जानकारी दिए।

‘कहिलेदेखि आएर बसेका हुन्। को-को आएका छन्। के गर्न आएका हुन् भन्ने सोधपुछपछि खुल्ला। अहिले उपचार भइरहेको ‍छ,’ उनले भने।

Comment


Related News

Latest News

Trending News