
श्री याज्ञवलक्य संस्कृत माध्यमिक विद्यालय ज्ञानकूप जनकपुरधाममा वृहत शैक्षिक मेला सम्पन्न भएको छ । सो शैक्षिक मेलामा विद्यार्थीहरुले तयार पारेको विज्ञान प्रविधिमा आधारित मानवजीवनको प्रयोगमा आउने वस्तुहरु, अंग्रेजी एवं नेपाली भाषा साहित्य र रोबर्टसहित मानव विकासका चरणहरुको प्रदर्शनी गरिएको छ ।
सो वृहत शैक्षिक मेलाको समुद्घाटन मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले गरेका छन् । मेलाको समुद्घाटन गर्दै सभामुख मण्डलले यो ज्ञानकूपले इतिहास र विज्ञान दुइटैलाई समिश्रण गरेर शिक्षा दिदैं आएको भन्ने कुरा यो शैक्षिक मेला अवलोकन गर्दा देखिएको बताए ।
उनले भने यो शैक्षिक मेलामा प्रदर्शनीका लागि राखिएका विषयवस्तुहरु हेर्दा के लाग्यो भने आउने दिनमा यी विद्यार्थीहरु टेक्नीकलमा धेरै नै अगाडि जान सक्छ । यी विद्यार्थीहरुलाई थप प्रोत्साहन र लगानी गर्न जरुरी छ । अहिले यी विद्यार्थीहरुको सिकाईमा थप लगानी गरियो यिनीहरुले टेक्निकलको दुनियमामा देशविदेशमा नाम कमाउनेछ ।
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, धनुषा क्षेत्र नं। ३ का प्रतिनिधि सभा सदस्य जुली महतो, प्रदेश सभा सदस्य दिपेन्द्र ठाकुर, नेताहरु उमाशंकर अरगरिया, शिवशंकर साह हिरा लगायतका नेताहरु समेतले सो शैक्षिक मेलाको अवलोकन गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक संजय झाले विद्यार्थीहरुले वर्षभरिमा सिकेर प्रोजेक्टको रुपमा बनाइएका हरेक गतिविधिहरु दर्शाउनका लागि यो शैक्षिक मेलाको आयोजना गरिएको बताए । सो शैक्षिक मेलामा कक्षा १ देखि १२ सम्म ४७ वटा स्टल राखिएको र त्यसमा ३ सय ५० जना विद्यार्थीहरुले सहभागिता जनाएको जानकारी दिए । कार्यक्रमको समापनमा उत्कृष्ट प्रदर्शनी गरेका विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको छ ।