
रौतहटको गौर नगरपालिकाको चर्चित गौर राइस मिल्सको जग्गा अन्ततः बिक्री हुने भएको छ । गौरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख शम्भु साहले जग्गा बिक्री हुने निर्णयको बारेमा विस्तृत जानकारी गराउँदै नगरपालिकाले यस विषयमा लिएको अडान सार्वजनिक गरे ।
नगरप्रमुख साहका अनुसार गौर नगरपालिकाले नगरवासीहरूको हितमा काम गर्दै आएको छ तर केही तत्वहरू गलत प्रचारमा लागिरहेको बताए। गौर राइस मिल्सको जग्गा अधिग्रहण गर्न नगरपालिकाले ५ करोड रुपैयाँ विनियोजन गरिसकेको थियो तर सो रकम मात्र पर्याप्त नहुँदा संघीय तथा प्रदेश सरकारसँग थप रकमको माग गरिएको थियो ।
गौर राइस मिल्सको जग्गा अधिग्रहणका लागि प्रदेश सरकारबाट १५ करोड रुपैयाँ बजेट विनियोजन भए पनि कानुनी जटिलता र देशको आर्थिक संकटका कारण नगरपालिकाले सो रकम प्राप्त गर्न सकेन। नगरपालिकाले पटक– पटक पहल गरे पनि आवश्यक बजेट प्राप्त गर्न कठिनाइ भएपछि अन्तत वैकल्पिक समाधान खोज्नुपर्ने अवस्था आएको नगरप्रमुख साहले बताए ।
नगरपालिकाले गौर राइस मिल एण्ड फ्लोर कम्पनीका सञ्चालक समितिसँग वार्ता गरी सहमति गरेको छ। खेलमैदानको रूपमा प्रयोग भइरहेको २ बिघा १५ कठ्ठा जग्गा निशुल्क रूपमा गौर नगरपालिकाको नाममा पास गरिनेछ । मिल क्षेत्रमा रहेको सार्वजनिक सडक तथा धर्मशाला सुरक्षित गरिनेछ। बाँकी जग्गा कम्पनीलाई फुकुवा गर्ने निर्णय नगरपालिकाले गरिसकेको छ ।
नगरप्रमुख साहले नगरवासीलाई कुनै भ्रममा नपर्न आग्रह गर्दै नगरपालिकाले कुनै आर्थिक लगानी नगरी पूर्ण रूपमा निशुल्क रूपमा जग्गा प्राप्त गर्न लागेको स्पष्ट पारे । नगरप्रमुख साहले नगरवासीलाई सम्बोधन गर्दै भने हामी निशुल्क रूपमा २ विघा १५ कठ्ठा जग्गा उपहारस्वरूप प्राप्त गर्न सफल हुने उनको भनाइ छ । उनले यस्तो अवस्थामा केही विकास विरोधी तत्वहरूले गलत प्रचार गरी नगरवासीलाई भ्रमित बनाउने प्रयास गरिरहेको बताए ।
उनका अनुसार अदालतले पटक–पटक गौर राइस मिल्सको जग्गा फुकुवा गर्ने फैसला गरिसकेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत फुकुवा गर्ने निर्णय दिइसकेको छ । साथै मालपोत विभागले सो जग्गा रोक्का राख्नु नपर्ने भनी परिपत्र समेत गरिसकेको छ । नगरप्रमुख साहले भने, ‘नगरपालिकाले कानुनी रूपमा सम्भव नभएको कुनै पनि कार्य गर्ने छैन। हामीले सबै प्रक्रिया पूरा गरेर कानुनको दायराभित्र रही नगरवासीको हितमा काम गरिरहेका छौं ।
नगरवासीहरूले झूटो प्रचारमा पर्नु हुँदैन ।’ उनले नगरवासीलाई कुनै आर्थिक भार नपर्नेगरी नगरपालिकाले निशुल्क रूपमा जग्गा प्राप्त गर्ने कुरामा अडिग रहने प्रतिवद्धता जनाए । गौर राइस मिल्सको जग्गा सार्वजनिक हितका लागि प्रयोग हुनुपर्ने भन्दै विभिन्न राजनीतिक दलका नेताहरू विरोध गरिरहेका छन् ।
उनीहरूले सामाजिक सञ्जालमा पोस्ट गर्दै गौरको सम्पत्ति यसरी गुम्न दिन नहुने बताउँदै यसको संरक्षणका लागि जस्तोसुकै मूल्य चुकाउन तयार रहेको बताएका छन् । राजनीतिक दलहरूको विरोध र नगरपालिकाको निर्णयका कारण गौरमा द्वन्द्वको अवस्था सिर्जना हुने आशंका गरिएको छ । तर नगरप्रमुख साहले यस विषयमा स्पष्ट पार्दै भने नगरपालिकाले नगरवासीको हितमा मात्र काम गर्ने दाबी गरे । विरोधका कारण हाम्रो निर्णय परिवर्तन नहुने उनले बताए । गौर राइस मिल्सको जग्गा वर्षौंदेखि विवादित छ ।