२०८१ फाल्गुन २१, बुधबार १०:३९

सदनमा पेश भएको एक महिनापछि अध्यादेशको प्रक्रिया अघि बढ्ने भएको छ । प्रतिनिधि सभामा आज र राष्ट्रिय सभामा भोलि अध्यादेशलाई अघि बढाउने सरकारको तयारी छ ।

सरकारलाई समर्थन गरेका दलसमेत विपक्षमा उभिएपछि ६ मध्ये भूमिसम्बन्धी अध्यादेश भने तत्काल अघि नबढ्ने भएको छ ।

प्रतिनिधि सभामा बहुमत रहेको सरकारसँग राष्ट्रिय सभामा अध्यादेश स्वीकृतका लागि आवश्यक सङ्ख्या पुग्दो छैन ।

राष्ट्रिय सभामा जनता समाजवादी पार्टी (जसपा) नेपाल निर्णायक छ । जसपाले भूमि अध्यादेशबाहेक अन्यमा सरकारलाई सहयोग गर्ने निर्णय गरिसकेको छ । जसपा नेपालसँगै भूमि अध्यादेशको विपक्षमा सरकारमै सहभागी रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) समेत रहेको छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।

सम्भावित कार्यसूचीअनुसार बैठकमा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८१, ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ र ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१ लाई स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

त्यसैगरी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ लाई स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

त्यसअघि बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने छ ।

आजको प्रतिनिधि सभामा अध्यादेश पेश हुने भएसँगै सत्तारुढ मुख्य दुई दल कांग्रेस र एमालेले बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरूलाई ह्विप लगाएका छन् । प्रतिनिधि सभाको बैठक दिउँसो एक बजेका लागि आह्वान गरिएको छ ।

Comment


Related News

Latest News

Trending News