
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा मन्त्रालयले पटक-पटक स्पष्टीकरण सोधेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) सहित विपक्षी दलका सांसदहरूले विरोध गरेका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठक सुरू हुनेबित्तिकै विपक्षी दलका सांसदहरू बसेको ठाउँबाट उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएका थिए।
पाण्डेले घिसिङमाथि पटकपटक स्पष्टीकरण सोधिएको र कार्यसम्पादन मूल्याङ्कनमा शून्य नम्बर दिएकोमा विरोध जनाउँदै सभामुखमार्फत् सरकारको जबाफ माग गरेका थिए।
‘अहिले स्पष्टीकरण सोध्नेमात्र होइन, उहाँको कार्यसम्पादन मूल्यांकनमा शून्य आएको भन्ने छ। बारम्बार यो सरकार विचौलियाहरूको पक्षमा लैजाने कुरा, जसले सधैँ बक्यौता रकम उठाउने कुरा गरिरहेको छ। त्यसमा पनि रोकावट आइरहेको छ। यो कुरालाई मध्यनजर गर्दै हामी हाम्रोतर्फबाट यो सरकारलाई यसो नगरियोस् भनेर गम्भीर खबरदारी गर्न चाहन्छौं,’ उनले भने, ‘हामी सरकारलाई यो बारेमा रुलिङ गर्नका लागि सभामुखलाई हार्दिक आग्रह गर्दछौं। रुलिङ नगर्दासम्म विरोधलाई हामी जारी राख्छौं।’
विपक्षी दलहरूका तर्फबाट प्रमुख सचेतक पाण्डेले बोलेपछि उनीहरूले उठेर विरोध जनाएका थिए। तर सभामुख घिमिरेले आकस्मिक समयमा केही सांसदहरूले बोल्न समय मागेकाले त्यसपछि छलफल गर्ने भनेपछि उनीहरू बसेका थिए।
प्रतिनिधि सभामा अहिले आकस्मिक समयमा विभिन्न दलका सांसदहरूले धारणा राखिरहेका छन्।
राप्रपा सांसद ज्ञानेन्द्र शाहीले घिसिङलाई हटाए सदन र सडकबाट विरोध गर्ने चेतावनी दिए।