२०८१ फाल्गुन २२, बिहीबार १४:३५

महोत्तरीको गौशालामा नेपालकै सबैभन्दा ठूलो कागज उद्योग आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ । उद्योग वाणिज्य महासङ्घका अध्यक्ष एवम् आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालको लगानीमा उद्योग सञ्चालनमा आएको हो ।

ढकालको लगानीमा विशेषगरी वित्तीय, पर्यटन, अटोमोबाइल, सूचना प्रविधि र उर्जा क्षेत्रमा संलग्न रहेको आईएमई ग्रुपले आजदेखि कागज कारखाना सञ्चालन गरेको छ ।

‘नेपाल पल्प एण्ड पेपर इण्डस्ट्रिज प्रा.लि.’ ले सञ्चालनमा ल्याएको कागज कारखानामा आईएमई ग्रुपको २ अर्ब रुपैयाँ बढी लगानी रहेको छ । महोत्तरीको गौशाला नगरपालिका १ रामनगरमा रहेको यस उद्योगमा सबै नेपाली लगानीकर्ताहरूको लगानी छ ।

२०७८ सालमा शिलान्यास भएको यस उद्योगले निर्माण प्रक्रिया सकिएर गएकाे पुसदेखि उत्पादन शुरू गरिसकेको छ ।

नेपालमा वार्षिक झन्डै डेढ लाख मेट्रिक टन कागज खपत भइरहेको छ । नेपालमा कागज उद्योग नहुँदा अहिले सबै कामका लागि आवश्यक कागज आयात गर्नुपर्ने अवस्था रहेकाले निजी क्षेत्रले लगानी गरेर अगाडि बढाउन लागिएको अध्यक्ष ढकालले बताउनुभयो ।

विद्यालय,क्याम्पसमा लेख्ने–पढ्ने कापीदेखि फोटोकपी, ट्वाइलेट र टिस्यु पेपरसम्ममा समेत नेपाल परनिर्भर अवस्थामा छ । तर अब उद्योग सञ्चालनमा आएसँगै पहिलो वर्षमै नेपालका लागि आवश्यकमध्ये झन्डै ४० प्रतिशत कागज नेपालमै उत्पादन हुनेछ ।

उद्योगले स्वदेशी कच्चा पदार्थ र जनशक्ति परिचालन गरी स्वदेशमै उच्च गुणस्तरीय कागज उत्पादन गर्ने दाबी गरेको छ ।

Comment


Related News

Latest News

Trending News