
गौर राइस मिलको जग्गा भूमाफियाबाट बचाउन र दोषीलाई कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ ।
नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका रौतहट जिल्ला इन्चार्ज अजयकुमार गुप्ता बुधवार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाएका छन् । गौर नगरपालिकाका पूर्वमेयर समेत रहेका एमाले नेता गुप्ताले प्रधानमन्त्री ओलीलाई भेटेर गौर राइस मिलको जग्गा भूमाफियाले बिक्री गर्न लागेकोमा तत्काल सो जग्गा रोक्का गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन ज्ञापनपत्र मार्फत माग गरेका छन् ।
भूमाफियाले गौर नगरपालिकाको मिलेमतोमा सार्वजनिक उपभोगमा रहेको राइस मिलको जग्गा बेचविखन गर्न लागेकोमा जग्गा रोक्का गरी त्यसको सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न रौतहट संसदीय निर्वाचन क्षेत्र नम्बर १ का सांसद प्रत्यासीसमेत रहेका गुप्ताले ज्ञापनपत्र मार्फत माग गरेका छन् ।
नक्कली कागजपत्र तयार गरी ठूलो आथिर्क चलखेल गरी जग्गा हड्पन खोज्ने उपर छानबिन गरी कारबाही गर्नुपर्ने माग गरिएको छ । गौर राइस मिलको जग्गा वर्षौदेखि सार्वजनिक रुपमा प्रयोग भइ विभिन्न मेला महोत्सव, राजनीतिक सभा सम्मेलन, तथा क्रिकेट खेलाडीहरूका लागि खेल मैदान को रुपमा प्रयोग हुँदै आएको छ । सो ज्ञापन पत्रमा भूमाफिया र गौर नगरपालिकाको मिलेमतोमा धेरै ठूलो आथिर्क चलखेल गरी सो जग्गा भागबण्डा गरी खेल मैदानको अस्तित्व नै समाप्त हुने गरी रौतहटवासीको सपनालाई धमिलो पार्ने उदेश्यका साथ अगाडी बढेकोमा अबिलम्व सो जग्गा बिक्री वितरणमा रोक लगाइनु पर्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।
साविक गौर गाविस वडा नम्बर ७ को किता नम्बर १३९ को ०–४–१५ ,१४०को ०.१६– ०,१६३को ४–१०–० र ८०३को ०.९.० जग्गा गौरको मुटु आन सम्मान, रौतहटवासीको धरोहर, युवा खेलाडीको भविष्य भएकाले त्यसको संरक्षणको लागि तत्काल कदम चाल्नुपर्ने एमाले केन्द्रीय सदस्य अजय कुमार गुप्ताद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
मंगलवार साँझ गौरका मेयर शम्भु साहले सो जग्गा बिक्री गर्ने सहमति अनुसार कार्यपालिकाले निर्णय गरेको सार्वजनिक गरेसंगै चौतर्फी विरोध शुरु भएको छ । गौर राइस मिलको जग्गा बचाउ अभियानीहरु ठूलो संख्यामा विरोध प्रदर्शन पछि नगरपालिकामा पुगेर निर्णय फिर्ता लिन मेयर साहलाई २४ घन्टे अल्टिमेटम दिएका छन् ।
मुख्यमन्त्री सतीशकुमार सिंहले सो जग्गाको बारेमा विस्तृत छानबिन गर्न प्रदेशका महान्यायाधिवक्ता सुरेन्द्रकुमार महतोलाई निर्देशन दिँदै तत्काल कुनै निर्णय कार्यान्वयन नगर्न ज्ञापन पत्रमार्फत गौर नगरपालिकालाई आग्रह गरेका छन् । नेपाली कांग्रेस मधेश प्रदेश कमिटी र जनमत पार्टी जिल्ला कमिटी रौतहटले छुट्टाछुट्टै विज्ञप्ति निकालेर गौर राइस मिलको जग्गा अधिग्रहण हुनुपर्ने माग गरेको छ ।