२०८१ फाल्गुन २३, शुक्रबार ०८:०८

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर चुनाव लड्न चुनौती दिएका छन् ।

महोत्तरीको गौशालामा बिहीबार आईएमई ग्रुपले स्थापना गरेको नेपाल पल्प पेपर इन्डस्ट्रिजको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशका जुनसुकै स्थानबाट चुनाव लड्न पूर्वराजा शाहलाई कुर्सीमा बस्दैमा राजा नभइने भन्दै उनले कटाक्ष गरे । प्रधानमन्त्री ओलीले भने, ‘हुँदा हुँदा हिजो कि अस्तीका दिन उहिले नेपाली जनताले फालेको राजतन्त्रलाई फेरि कताबाट कहाँबाट उधिनेर ल्याएर खोइ कहाँ कुर्सीमा राख्छन्, अरे । मान्छे कुर्सीमा बस्दा राजा हुने भए त तपाईंहरु कुर्सीमा बस्नुभएको छ, राजा हुनुभो ?

(अर्कोतिर फर्केर) यता पनि कुर्सीमा बस्नुभएको छ राजा हुनुभो ? कुर्सीमा राख्दैमा राजा भइँदैन ।’ उनले छायाँलाई अगाडि सार्नुभन्दा आफैं अगाडि सर्न पूर्वराजालाई आग्रह गरे । संविधानको बाटो समाएर आएमा आफूहरुलाई आपत्ति नहुने उनले बताए । उनले भने, ‘लोकप्रिय हुनुहुन्छ भने ठीक छ, संविधानअनुसार चुनाव लड्न आउनुस् न ।

तपाईंलाई जहाँसुकै चुनाव लड्न खुला छँदैछ नि । आउनुस्, चुनाव लड्नुस्, पार्टी खोल्नुस् । खोलेकै छ, त्यसलाई आफ्नो भन्नुस् । मेरो पार्टी भन्नुस् न । एउटा घोस्ट भन्छ नि, छायाँ अगाडि सारेर होइन, आफूलाई अगाडि सार्नुस् न । अनि अलिकति टाउको निकाल्ला निकाल्ला जस्तो, यसोयसो पनि गर्ने, अप्ठेरो पर्यो भनेर फुत्त तानेर कछुवा तालले टाउको लुकाउने ? ्रधानमन्त्री ओलीले अघि थप्दैँ भने, ‘ षड्यन्त्रबाट जन्मेको राजतन्त्र र झाडीबाट आएका राजा फेरि फर्किने नसोच्दा हुन्छ,’ ओलीले भने, ‘नेपाली जनताको चेतनास्तर माथि उठिसकेको छ । बलमिच्याइँ, अराजकताबाट सिंहासनबाट बस्ने चाहना नेपाली जनतालाई स्वीकार्य हुँदैन ।’

‘खोलिएकै पार्टीलाई आफ्नो भनेर, नभए नयाँ पार्टी खोलेर २०८४ मा चुनाव लड्न आग्रह गर्छु । प्रधानमन्त्री ओलीले भने, ‘बीचबीचमा टाउको निकाल्दैमा राजतन्त्र र राजा आउँदैन । सामन्ती राजतन्त्र र जन्मँदै राजा हुने प्रवृत्ति अब हुन सक्दैन । फालिएको राजतन्त्र फर्किदैन । फेरि राजा भएर रैती बनाउनु र दुई सय वर्ष अझै खान्छु भनेर नसोच्दा हुन्छ ।’ प्रधानमन्त्री ओलीले भुलभुलैया, नाटक, तमासमा नपर्न नागरिकसँग आग्रह गर्दै सरकारलाई दन्तबजान गर्ने फुर्सद नरहेको बताए ।

उनले मुलुकको दक्षिण क्षेत्रका सडक हुलाकी राजमार्ग लगायत सडक फराकिलो नबन्दा मधेशको विकास हुन नकसकेको बताए । फराकिलो सडक बनाएर नया सहर घोषणा गरी मधेशको विकास गर्न सकिने उनले बताए । प्रधानमन्त्री ओलीले उद्योग स्थापनाले चुलो चौकोमा सीमित रहनेका लागि पनि सीपसंगै रोजगारी सिर्जना गर्ने बताए । उनले आफ्नै कागज देशभित्र प्रयोग गर्ने अवसर र व्यापार घाटा सन्तुलनका लागि यसले योगदान दिइ आत्मनिर्भर बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले निजी क्षेत्रको प्रयासबिना समृद्धि हासिल नहुनेमा सरकार स्पष्ट रहेकाले औद्योगिक विकास र रोजगारी सिर्जनामा प्राथमिकता दिइने बताए । उनले भने, ‘अब हामी आत्मनिर्भरताको बाटोमा लाग्नुको विकल्प छैन । सहकार्यका माध्यमबाट युवाहरूले आपको खेती विकास गर्न सक्छन् । यसमा प्रदेश सरकारहरु पनि अघि सरुन् ।’

आइएमई ग्रुपको यो उद्योग स्थापना भएसँगै नेपालमा पहिलो पटक नष्ट भएका कागजबाट नयाँ कागज उत्पादन भएर आयात कम गर्न सहयोग पुग्नेछ । यस उद्योगले करिब तीन सयको रोजगारी दिनेछ । नेपालमा वार्षिक करिब डेड लाख मेट्रिक टन कागज खपत हुने गरेको छ ।

Comment


Related News

Latest News

Trending News