२०८१ फाल्गुन २३, शुक्रबार ०९:३५

भर्चुअल प्राइभेट नेटवर्क अर्थात भीपीएन प्रयोग गरेर मोबाइल तथा इन्टरनेट बैंकिङ चलाउन नपाइने भएको छ ।

नेपाल राष्ट्र बैंकले भीपीएनको प्रयोगबाट मोबाइल बैंकिङ वा इन्टरनेट बैंकिङ चलाउन नसकिने व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको हो ।

ग्राहकले मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ प्रणाली सञ्चालन वा कारोबार गर्दा भीपीएनको प्रयोग गरे–नगरेको पहिचान गरी आधिकारिक भीपीएनको प्रयोग नभएमा एपमा ‘लगइन’ गर्न नमिल्ने व्यवस्था मिलाउन केन्द्रीय बैंकले निर्देशन दिएको छ ।

राष्ट्र बैंकको निर्देशनअनुसार भुक्तानी सेवाप्रदायकले कम्तीमा दुई वर्षमा एक पटक डेटा सेन्टरमा हुन सक्ने जोखिम र त्यसको सुधारको परीक्षण डेटा सेन्टर डिजास्टर ड्रिल गर्नुपर्ने भएको छ । यस्तो परीक्षण सकेपछि केन्द्रीय बैंकमा यसको प्रतिवेदन पेश गर्नुपर्ने उल्लेख छ ।

त्यस्तै, भुक्तानी सेवाप्रदायक संस्थाहरूले सूचना प्रविधि विभागबाट सूचीकृत भएका संस्थासँग मात्रै डेटा सेन्टर राख्न पाउने भएका छन् ।

यस्तै भुक्तानी सेवाप्रदायकलाई इन्टरनेटविनाको ‘युएसएसडी बेस्ड पेमेन्ट सिस्टम’ सेवाबापत कारोबार गर्न पाउने दैनिक सीमा अधिकतम १० हजार तोकिएको छ । यद्यपि एक पटकमा पाँच हजारभन्दा बढी कारोबार नहुने उल्लेख छ ।

यस्तै राष्ट्र बैंकले एउटै खाताबाट एकै प्रकृतिको (डेबिट, क्रेडिट वा प्रिपेड) एकभन्दा बढी कार्ड जारी गर्न नपाइने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक तथा अनुमति प्राप्त सबै वित्तीय संस्थाहरुलाई परिपत्र जारी गर्दै यो व्यवस्था लागू गर्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक कम्पनीहरूले ग्राहकलाई विद्युतीय कार्ड जारी गर्दा आवेदन फारमसँगै कार्डको शुल्क,कारोबार सीमा, ब्याजदर, तथा अन्य सुविधासम्बन्धी सूचनामूलक सामग्री अनिवार्य रूपमा प्रदान गर्नुपर्ने व्यवस्थालाई भने हटाएको छ ।

Comment


Related News

Latest News

Trending News